काठमाडौँ । विपक्षी दलका सांसदहरूको विरोध र नाराबाजीकैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुभएको छ । आजको प्रतिनिधि सभाको बैठकमा १५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ ।
नाराबाजी गरिरहेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरुलाई वेलमा मर्यादापालकले घेरेर प्रधानमन्त्रीले विश्वासको मत लिनुभएको हो ।
आजको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । सभामुखले बस्न आग्रह गरे पनि उनीहरुले नमानि वेल घेराउ गर्दै नाराबाजी गरे । नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद बैठक स्थगित गर्नुभएको थियो ।
पुनः सुरु भएको बैठकमा पनि विपक्षी सांसदको नाराबाजी कायमै रहेपछि सभामुख घिमिरेले विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री प्रचण्डलाई र समर्थन जनाउन नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई बोल्न समय दिनुभयो ।
त्यसमाथि जवाफ दिने प्रक्रिया पूरा गरेपछि सभामुख घिमिरेले मतदानको प्रक्रिया अघि बढाउनुभएको थियो ।
विपक्षी दलहरुले वेल घेरेका कारण प्रधानमन्त्री प्रचण्ड भिड छिचोल्दै रोष्टमसम्म पुग्नुपरेको थियो । प्रधानमन्त्री प्रचण्डले आक्रोश व्यक्त गर्दै कांग्रेसको यो गतिविधि कलंकको रुपमा स्थापित हुने जिकिर गरे । कांग्रेसले गलत गरेको उहाँको भनाइ थियो ।
प्रतिनिधि सभाको बैठक मंगलबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१, १३:२७