गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने पर्यटकबाट प्रवेश शुल्कमार्फत ९ महिनामा साढे दुई करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाले चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि चैत महिनासम्ममा मनास्लु क्षेत्र घुम्न जाने पर्यटकबाट प्रवेश शुल्क बापत २ करोड ५० लाख ५८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
साउनदेखि चैतसम्म सार्क राष्ट्र भित्रका १ सय ५२ जना विदेशी पर्यटक मनास्लु संरक्षण क्षेत्रमा घुम्न पुगेका थिए ।
उनीहरूबाट १ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको एमक्याप गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो।
सोही अवधिमा सार्कवाहेक अन्य देशका ८ हजार ३ सय २ जना विदेशी पर्यटक मनास्लु क्षेत्रमा घुम्न पुगेको कार्यालयको तथ्याङ्क रहेको छ ।
सार्कवाहेकका अन्य विदेशी पर्यटकबाट सोही अवधिमा २ करोड ४९ लाख ६ हजार रुपैयाँ प्रवेश शुल्कबाट राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।
मनास्लु क्षेत्र घुम्न जाने सार्क राष्ट्र भित्रका पर्यटकसँग कार्यालयले प्रति व्यक्ति १ हजार रुपैयाँ प्रवेश शुल्क लिदैँ आएको छ । सार्कवाहेकका अन्य विदेशी पर्यटकबाट प्रति व्यक्ति ३ हजार रुपैयाँ प्रवेश शुल्क कार्यालयले लिने गरिएको उहाँको भनाई छ ।
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१, ०८:३२