काठमाडौँ । सहकारी पीडितले शुक्रबारदेखि तेस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका छन् । आफुहरुसँग यसअघि भएका सम्झौता सरकारले कार्यान्वयन नगरेका कारण जेठ ११ शुक्रबारबाट आन्दोलन घोषणा गरिएको पीडितहरुको संगठन सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले जानकारी दिनुभयो ।
आन्दोलन शुक्रबार बिहान ११ बजे माइतीघर मण्डलबाट सुरु हुने र पहिलो दिन र्याली, कोणसभा र रिले अनशन सुरु गर्ने र माग पूरा नभएसम्म आन्दोलन देशैभर सशक्त रूपमा अगाडि बढ्ने उहाँले बताउनुभयो । नेपालगन्ज, चितवन र धरानमा पनि आन्दोलन सुरु हुने उहाँको भनाई छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष केसीले सबै दललाई सहकारी बचतकर्ताको पक्षमा आवाज उठाइदिन र समस्या समाधानका लागि पहल गर्न पनि आग्रह गर्नुभयो ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका उपाध्यक्ष पुरुषोत्तम कार्की, कोषाध्यक्ष देवकुमार श्रेष्ठ वरिष्ठ सल्लाहकार भीमकुमार श्रेष्ठलगायतले सरकारले सहकारीपीडितको पक्षमा काम गर्न नसकेका कारण पनि आफुहरु अर्को चरणको आन्दोलन घोषणा गर्न बाध्य भएको बताउनुभयो ।
चितवन, कास्की, नवलपुर, बुटवल, लगायत क्षेत्रमा अहिले पनि सहकारी पिडितले प्रदर्शन लगायत आन्दोलन गरिरहेको र अब देशैभरि आन्दोलन सशक्त पारी आफुहरुको बचत रकम फिर्ता पाउने वातावरण बनाएरै छोड्ने सहकारी पिडितहरुले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१, १६:३१