काठमाडौँ । विपक्षी दलका सांसदको नाराबाजीबीच प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाले आइतबार पारित गरेको हो ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध जारी राखेकाले नीति तथा कार्यक्रम बिना छलफलको औपचारिकता पूरा गरी पारित भएको हो ।
छलफल अघि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राख्नुभएको थियो । दुवै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।
बजेट आउँदो मङ्गलबार सरकारको बार्षिक आय ब्ययको विवरण अर्थात् बजेट जेठ १५ गते मंगलबार प्रस्तुत हुने भएको छ । आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनका लागि मंगलबार दिनको १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने जानकारी गराउनुभएको हो । उहाँले बजेटका लागि दिउँसो पौने १ बजेभन्दा अगाडि नै संसदमा उपस्थित भइसक्न प्रतिनिधि सभा सदस्यहरुलाई आग्रह गर्नुभयो ।
बजेट, हरेक जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले पेश गर्नुपर्ने संवैधानिक ब्यवस्था रहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१, १४:५९