काठमाडौँ । सामाजिक सुरक्षामा आबद्ध नेपालीको संख्या लगातार बढ्दै गएको छ।
अर्थमन्त्री वर्षमान पुनले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणअनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्या पछिल्लो एक वर्षमा साढे ५ प्रतिशतले बढेको हो।
गत वर्ष सामाजिक सुरक्षामा आबद्धको संख्या ३७ लाख ६ हजार ३२७ रहेको यो संख्या गत फागुनसम्म सो संख्या ३८ लाख २७७ पुगेको सर्वेक्षणमा उल्लेख गरिएको छ । जसमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको संख्या १६ लाख २२ हजार ५१६ रहेको छ ।
६० वर्ष माथिका दलित १ लाख ५८ हजार २६१, ६० वर्ष माथिका एकल महिला ज्येष्ठ नागरिक १ लाख ९८ हजार २७०, एकल महिला ५ लाख ७६ हजार ५५३, पूर्ण अपांगता भएका ६६ हजार ४५२, अति अशक्त अपांगता भएका १ लाख ४२ हजार १८५, तोकिएको क्षेत्रका बालबालिका ७ लाख ६१ हजार ९३, दलित बालबालिका ३ लाख ४२ हजार १७६, लोपोन्मुख जाति २२ हजार २४७, ६० वर्ष कटेका ज्येष्ठ नागरिक क्षेत्र तोकिएका १६ हजार ८४४ रहेको सर्वेक्षणले देखाएका छन् ।
यस्तै हरेक वर्ष राज्यले सामाजिक सुरक्षा भत्तामा खर्च गर्ने रकमको आकार पनि बढ्दै गएको छ।
चालु आर्थिक वर्षमा संघीय सरकारले सामाजिक सुरक्षातर्फ २ खर्ब ९८ अर्ब ५७ करोड १९ लाख विनियोजन गरेको थियो।
सामाजिक सुरक्षामा सरकारले छुट्याएको रकम कूल बजेटको १४ दशमलव ७८ प्रतिशत, चालु बजेटको २२ दशमलव ६७ प्रतिशत र कूल ग्राहस्थ उत्पादनको ५ दशमलव ५४ प्रतिशत हो।
१० वर्षअघि आर्थिक वर्ष ०७०÷०७१ मा कूल बजेटको ८ दशमलव१७ प्रतिशत मात्र सामाजिक सुरक्षा शीर्षकमा खर्च भएको थियो।
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१, १०:१४