काठमाडौँ । देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क (सीआईएन) को १६ औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालद्वारा सञ्चालित सीआईएनको स्थापना दिवसको अवसरमा बिहान ११ बजे विपद्मा सामुदायिक रेडियोको भूमिकाका बारे बृहत छलफलको आयोजना गरिएको म्यानेजर दीपक आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार छलफलमा विपद्को क्षेत्रमा क्रियाशील सङ्घसंस्था, प्रतिनिधिको सहभागिता रहने भएको छ ।
सीआईएन नेटवर्क २०६६ जेठ १५ मा स्थापना भएको हो । हाल सीआईएनले बिहान ६ बजे र बेलुका साढे ७ मा दैनिक समाचारमूलक कार्यक्रम साझा खबर र हरेक दिन बिहान साढे ६ बजेदेखि आधा घण्टा शिक्षा र सूचनामूलक कार्यक्रम प्रसारण गर्दै आएको छ ।
देशभरमा रहेका ३ सयभन्दा धेरै सामुदायिक रेडियोबाट सीआईएन प्रसारण हुन्छ ।
१६ औँ स्थापना दिवसको अवसरमा सीआईएनले पछिल्लो समयमा समाजमा भए गरेका सकारात्मक काम, अभ्यासका बारेमा गरिएका रिपोर्टिङ प्रसारण गर्दै आएको छ भने "समुदायमा सीआईएन " शृङ्खला चलाउँदै आएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१, ०८:१८