काठमाडौँ । विपद्का समयमा सूचनाका लागि सामुदायिक रेडियो भरपर्दो माध्यम भएको सरोकारवालाले बताएका छन् । सामुदायिक सूचना नेटवर्क सीआईएनको १६ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विपद्मा सामुदायिक रेडियो विषयक अन्तरक्रियाका सहभागीले रेडियो सूचना र जानकारी प्राप्त गर्नका लागि मात्र नभएर विपद्का बेलाको मनोसामाजिक परामर्शका लागि समेत अति उपयोगी रहेको पाइएको बताएका हुन् ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले विपद्का समयमा सञ्चारमाध्यमको भूमिका अति नै महत्त्वपूर्ण हुने र त्यसमा पनि सामुदायिक रेडियो अझै प्रभावकारी रहेको पाइएको बताउनुभयो । भूकम्प, बाढी पहिरो लगायत विपद्का समयमा सामुदायिक रेडियो र रेडियोकर्मीले आफैँलाई जोखिममा पारेर पनि सूचना र समाचार सम्प्रेषण गरेकोमा धन्यवाद दिनुभयो ।
प्राधिकरणले हरेक वडासम्म नै संरचना निर्माणको योजना बनाइरहेको जानकारी दिँदै उहाँले यस पटकको विपद्को पूर्व तयारी र विपद्का समयको तयारीका लागि गृह मन्त्रालयले सबै निकाय समेटेर टास्क फोर्स बनाउने निर्णय नै गरिसकेको जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटीको विपद् व्यवस्थापन शाखाका प्रमुख सागर श्रेष्ठले पछिल्लो समय रेडियोका श्रोता घटेको भन्ने गरिए पनि अहिले पनि बहुसंख्यक नेपाली र नेपालको अधिकांश क्षेत्रमा सूचनाको पहिलो स्रोत रेडियो नै रहेको बताउनुभयो । देशका सबै भागमा इन्टरनेटको पहुँच पुगिसकेकाले समुदायको साथी रेडियो नै भएको श्रेष्ठको भनाइ छ । उहाँले रेडक्रसका स्वयंसेवकसँग सामुदायिक रेडियोले मिलेर काम गर्न सकिने बताउनुभयो । विपद् जोखिमबारे समुदाय स्तरमा सूचना सम्प्रेषण गर्न सामुदायिक रेडियोले पुर्याइरहेकाे योगदानको उहाँले प्रशंसा गर्नुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष ठाकुरप्रसाद भण्डारीले विपद्सँग सम्बन्धित समुदायका हरेक चासो र चिन्तामा सामुदायिक रेडियो सँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । वन्यजन्तुको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुन थालेकाले यसको न्यूनीकरणका लागि रेडियोले भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका महासचिव पार्वता गौतमले बहु विपद्को जोखिममा रहेको नेपालमा विपद्बाट जोगिन सामुदायिक रेडियोले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । यस वर्ष आगलागीको जोखिमलाई कम गर्न रेडियोले प्रसारण गरेको सूचना नागरिकको जीवन र प्रकृति जोगाउन सहयोग गरेकोमा उहाँले धन्यवाद दिनुभयो ।
सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरीले विपद्का समयमा सामुदायिक रेडियोले नागरिकलाई सूचना, सञ्चार, शिक्षा र मनोवैज्ञानिक सहजीकरणमा अतुलनीय योगदान गरेका कारण जापान लगायत देशमा राज्यले नै सामुदायिक रेडियोलाई जगेर्ना गरेर राखेको उल्लेख गर्नुभयो । नेपालका सामुदायिक रेडियोहरूको दिगोपनाका लागि सबैले सोच्नुपर्ने बेला आएकोमा उहाँले जोड दिनुभयो ।
अकोरावका पूर्व अध्यक्ष सुवास खतिवडाले २०७८ को जनगणनाअनुसार ३४ प्रतिशत नागरिक र दैनिक १ करोड नेपालीले रेडियो नियमित सुन्ने देखाएकाले पनि रेडियोले आम नागरिकलाई कति प्रभाव पार्छ भन्ने प्रमाणित हुने बताउनुभयाे । रेडियाले बितेका दिनको भूमिकालाई गर्व गर्दै समुदायको आवाजलाई प्राथमिकता दिँदै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सामुदायिक सूचना नेटवर्क सीआईएनका म्यानेजर दीपक आचार्यले विपद्का बेला सामुदायिक रेडियो सूचना प्रवाहका लागि अग्रसर भएका उदाहरण प्रस्तुत गर्दै सामुदायिक रेडियोको महत्त्वमाथि प्रकाश पार्नुभयो ।
निरन नेपालका सल्लाहकार रामचन्द्र भण्डारीले कतिपय समाचार प्रकाशित प्रसारित हुँदा थप घटना हुने जोखिम हुने भएकाले यसबाट रेडियोहरू सचेत हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जाल लगायतमा आउने गलत हल्ला र अफवाहलाई चिरेर सामुदायिक रेडियोले आधिकारिक सूचना उपलब्ध गराइरहेको बताउनुभयो ।
सेभ द चिल्ड्रेनका पैरवी, वकालत तथा सञ्चारका निर्देशक आयुष जोशीले सामुदायिक रेडियो समुदायको साथी बन्नुपर्ने बताउनुभयो । रेडियो सूचना आदानप्रदानमा मात्रै नभई यस कारण सिर्जित नतिजालाई पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
वल्र्डभिजनका व्यवस्थापक श्याम अधिकारीले सीर्आइएनसँगको विगतको साझेदारी उपलब्धिमूलक रहेको स्मरण गर्दै यसबाट प्रसारण हुने सामग्री समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिनुभयो ।
ईरिप्स नेपालका प्रमुख डा. आरसी लामिछानेले सिन्धुपाल्चोकको जुरे पहिरो, गोरखा भूकम्प, कोरोना महामारी जस्ता विपद्का समयमा रेडियो सूचनाको भरपर्दो स्रोत भएको पुष्टि भएको बताउनुभयो । देशका ७ सय ५३ वटै स्थानीय तहसँग विपद्को प्रस्ट योजना नभएकाले यसतर्फ रेडियोले झकझकाउनुपर्ने बताउनुभयो ।
कृषक समूह महासङ्घ नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठले सामुदायिक वनदेखि किसान र कृषिको मुद्दामा रेडियोले सधैँ वकालत गरेको बताउनुभयो ।
राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जालका सल्लाहकार श्यामसुन्दर ज्ञवालीले सामुदायिक रेडियोले विपद् अघि अर्थात् पूर्व तयारीको योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
१६ औँ स्थापना दिवसको अवसर पारेर तीन जना सीआईएनकर्मीलाई पुरस्कृत गर्ने घोषणा गरिएको छ । जसमा सीआईएन काठमाडाैँबाट सजना तिमल्सिना, रेडियो साथी झापाकी शुष्मा राजवंशी र रेडियो मुुगु मुगुका खड्क सुनार रहनुभएको छ । तीनैजनाले जनही १५ हजार रुपैयाँका दरले पुरस्कार पाउनुहुनेछ ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१, १६:५१