काठमाडौँ । सरकारले आर्थिक वर्ष आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट पेश गर्नुभएको हो । यो यो चालु आवको तुलनामा ६ दशमलव २ प्रतिशतले धेरै हो । यस्तै संशोधित बजेट भन्दा २१ दशमलव ५६ प्रतिशत धेरै हो ।
चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।
सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६१ दशमलव ३१ प्रतिशत हो । पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएको छ । यो कुल बजेटको १८ दशमलव ९४ प्रतिशत हो । यसैगरी वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९ दशमलव ७४ प्रतिशत रहेको अर्थमन्त्री पुनले बताउनुभयो ।
यस वर्ष सरकारले प्रदेश र स्थानीय तहमा ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण गर्ने भएको छ ।
खर्च ब्यहोर्ने स्रोततर्फ राजस्वबाट सरकारले १२ खर्ब ६० अर्ब ३० करोड संकलन गर्ने लक्ष्य राखेको छ । यस वर्ष राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड संकलनको लक्ष्य राखेको छ ।
आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब संकलन गर्ने लक्ष्य रहेको छ । वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड जुटाउने अर्थ मन्त्री वर्षमान पुनले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१, १७:१६