काठमाडौँ । बाल कुपोषण र भोकमरी उन्मूलन गर्ने उद्देश्यले इनफ (ENOUGH) अभियान आज काठमाडौँमा एक औपचारिक कार्यक्रमका सुरुवात गरिएको छ ।
बालबालिकाको क्षेत्रमा कार्यरत वर्ल्डभिजन इन्टरनेश्नल र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको संयुक्त आयोजनामा काठमाडौँमा भएको एक कार्यक्रमका बीच अभियानको घोषणा गर्नुभयो ।
कार्यक्रममा वर्ल्डभिजन इन्टरनेश्नल नेपालका राष्ट्रिय निर्देशक रोज्लिन गाब्रियलले नेपालमा सन् २००१ देखि वल्र्ड भिजनले बालबालिको अधिकारको रक्षाका साथै पोषण र स्वास्थ्यमा विशेष ध्यान दिएर बालबालिकाको कल्याणका लागि काम गरिरहेको बताउनु भयो ।
उहाँले यो इनफ अभियानले प्राथमिकरुपमा बाल भोकमरी र कुपोषण अन्त्यका लागि नेपाल सरकारको कार्यक्रम तथा प्रयासहरूलाई सहयोग गरी बालबालिकाको पोषणलाई सुनिश्चित गर्ने लक्ष्य लिएको जानकारी गराउनुभयो ।
दिगो विकास लक्ष्यको लक्ष्य नम्बर २ हासिल गर्न देशको प्रतिबद्धता र त्यसलाई प्राप्त गर्न बहुक्षेत्रीय पोषण योजना-तेस्रो र १६ औँ आवधिक योजना जस्ता राष्ट्रिय प्राथमिकताहरूलाई यस अभियानले पूरा गर्नको लागि सहयोग पनि उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) सँगको सहकार्यमा यो कार्यक्रम गर्न पाउँदा आफूहरूलाई गर्व लागेको गाब्रीलले बताउनुभयो ।
वल्ड भिजन इन्टरनेशनल नेपालले नेपालमा बाल भोकमरी र कुपोषणको क्षेत्रमा नेपाल सरकारलाई सहयोग गर्न १.७ मिलियन अमेरिकी डलर सहयोग दिने प्रतिबद्धता जनाएको छ ।
वल्र्ड भिजन इन्टरनेश्नलले विश्वका विभिन्न देशमा भोकमरी र कुपोषणमा रहेका बालबालिकाको खाद्य अधिकार र पोषणको अधिकारलाई सुनिश्चित गर्ने अभिप्रायका साथ २०२३ को सेप्टेम्बर २२ देखि ENOUGH अभियानको सुरुवात गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाटै यसको घोषणा भएको हो ।
प्रत्येक ८ घरपरिवारमा १ जनाले खाद्य असुरक्षाको सामना गर्नुपरेको छ र स्वस्थ आहारको अभावमा प्रत्येक ४ मा १ जना बालबालिकाको मस्तिष्क र शरीर दुवैको पूणर् क्षमतामा वृद्धि हुन नसकेका छैन ।
यसैलाई हटाउन वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराबको सहकार्यमा ३ वर्षे अभियानको औपचारिक सुरुवात गरिएको हो ।
कार्यक्रममा बालबालिका, बिभिन्न सरोकारवाला निकायका प्रतिनिधि, सरकारी प्रतिनिधि, सरोकारवाला मन्त्रालयका पदाधिकारी, सांसद, संवैधानीक आयोगका पदाधिकारी, दातृ निकाय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, पोषणविद्, पत्रकार र साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
ENOUGH अभियानले विद्यालय र समुदायका बालबालिकाका लागि पोषणयुक्त खाना र पूरक आहारमा पहुँचसहित केही प्रमुख क्षेत्रहरूलाई प्राथमिकता दिनेछ ।
पर्याप्त तथा विशेष स्तनपानमा वृद्धि; बाल वृद्धि अनुगमन र पोषणमैत्री स्थानीय शासन अभिवृद्धि गर्न सरकारसँगको सहकार्य; बालबालिकाको भोकमरी र कुपोषणलाई सम्बोधन गर्न बजेट बढाउन वकालत गर्ने विषयमा अभियान केन्द्रित हुनेछ ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालले सन् २०२५ सम्म विशेष गरी सबैभन्दा जोखिममा परेका १०.७ मिलियन बालबालिकाको स्वास्थ्य सुधार गर्न कार्यक्रम केन्द्रित गर्ने जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१, १०:३७