गत चैत १७ गते साँझ आएको विनाशकारी हुरीले घरबारविहीन भएका बारा–पर्साका हुरी प्रभावित यही साउन २६ गतेभित्रै नयाँ घरमा सर्ने भएका छन् ।
हुरी प्रभावितको पुनस्र्थापना तथा घर पुनर्निर्माण गर्ने जिम्मा पाएको नेपाली सेनाले हाल निर्माण गरीरहेका आठ सय ६७ घर साउन २६ सम्म सम्बन्धित घरधनीलाई हस्तान्तरण गर्ने तयारी थालेको छ ।
सेनाले निर्माण गरिरहेका घरहरूका बारेमा जानकारी दिँदै ‘जनता अवास कार्यदल’ को नेतृत्व गरिरहेका नेपाली सेनाका सहायक रथी एवं नम्बर २८ बाहिनीपति बिनयबिक्रम राणाले साउन २६ गतेसम्म हुरी प्रभावितले घर पाउने बताउनुभयो ।
कुल निर्माण गर्नुपर्ने ८ सय ८१ घरमध्ये विवादरहित ८ सय ६७ घर निर्माण भइरहेको र साउन २६ गते ती घरहरूको रङ्गरोगन र बिजुलीसम्बन्धी काम मात्रै बाँकी राखेर हस्तान्तरण गरिने उहाँको भनाइ छ ।
विवादित भनिएका ऐलानी, पर्ति, जमिनमा बसोबास गर्दै आएका १४ परिवारका लागि मन्त्रीपरिषद्बाट यही साउन १५ गते मात्रै निर्णय भएर आएकाले सोसमेत गरी सम्पूर्ण घरहरू भदौ दोस्रो सातासम्म निर्माण सम्पन्न भईसक्ने सहायक रथी राणाले जानकारी दिनुभयो ।
बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले कतिपय सामान्य क्षति बेहोरेका प्रभावितहरूको पनि आकाङ्क्षा बढेको पाईएको भन्दै उहाँले पूर्ण रूपमा घर क्षति भएर बास बस्ने ठाउँ नै नभएका पीडितको हकमा मात्रै घर निर्माण गरिएको स्पष्ट पार्नुभयो ।
पर्साका दुईसहित कुल १२ वटा क्लस्टरमा निर्माण भइरहेका घरहरूका लागि नेपाल सरकारले प्रति घर ५ लाख ४५ हजार नौ सय ८५ रुपैयाँ ४४ पैसाका दरले सेनालाई हस्तान्तरण गरेको थियो । तर निर्माणका क्रममा त्यसको ११.१९ प्रतिशत बचत भएको नेपाली सेनाले जनाएको छ ।
दुई कोठा, एक भान्साघर र एक शौचालयसहितको घर निर्माणका लागी जम्मा ४ लाख ८४ हजार ८ सय ८८ रुपैयाँ खर्च भएको छ । सेनाले निर्माण गरीरहेका घर वातावरणमैत्री, प्राकृतिक प्रकोप प्रतिरोधी रहेको कार्यदलका ईन्जिनियर एवं नम्बर १४ बाहिनी अड्डाका सेनानी महेन्द्र सिजापती थापाले बताउनुभयो ।
सेनानी थापाले तराईको गर्मीबाट बचाउने, हावाहुरीले क्षति नपुर्याउने र पर्यावरण जोगाउने उद्देश्यले युपीभिसीका झ्यालढोका प्रयोग गरेर घर निर्माण गरिएको उल्लेख गर्नुभयो ।
बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले अझैँ पनि हुरीबाट प्रभावित भएकाहरूको लगत सङ्कलन प्रभावकारी नभएको गुनासो आईरहेको भन्दै त्यसमा शङ्का नगर्न आग्रह गर्नुभयो ।
नयाँ घर निर्माण भईरहँदा कतिपय सामान्य क्षति बेहोरेका प्रभावितहरूको पनि आकाङ्क्षा बढेको पाईएको भन्दै उहाँले पूर्ण रूपमा घर क्षति भएर बास बस्ने ठाउँ नै नभएका पीडितको हकमा मात्रै घर निर्माण गरिएको स्पष्ट पार्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६, १५:०७