काठमाडाैँ। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपाल, संयुक्त राष्ट्र संघको सूचना तथा सञ्चार प्रविधि सम्बन्धी विशेष निकाय इन्टरनेसनल टेलिकम्यूनिकेसन युनियन (आईटीयू) ले प्रदान गर्ने डब्ल्यूएसआईएस २०२४ अन्तर्गत मिडिया विधामा च्याम्पियन बनेको छ ।
स्वीट्जरल्यान्डको जेनेभामा शुक्रवार आयोजित विशेष कार्यक्रममा अकोराबका कार्यकारी निर्देशक प्रमोद तण्डुकारले च्याम्पियनको प्रमाणपत्र ग्रहण गर्नुभयो ।
आईटीयूले सूचना तथा सञ्चार प्रविधिलाई उपयोग गरी दिगो विकासका लक्ष हासिल गर्न विश्वभरि गरिएका पहलहरूमध्ये उत्कृष्टलाई सन् २०१२ देखी यो सम्मान प्रदान गर्दै आएको छ ।
अकोराबले २०८० सालको कात्तिक १७ गते जाजरकोटको बारेको केन्द्रबिन्दु भएर भूकम्प गएपछि सामुदायिक रेडियो प्रसारक संघले यूएनडीपी र यूनेस्कोको सहयोगमा जाजरकोट र रुकुम पश्चिमका स्थानीय सामुदायिक रेडियोहरू तथा अन्य सञ्चारमाध्यमका पत्रकार र कर्मचारीको मनोबल बढाउने, क्षति पुगेका रेडियोलाई पुनः सञ्चालन गर्ने, भूकम्पपश्चात् खेल्नुपर्ने भुमिकाको क्षमता बढाउने,बञ्चितिकरणमा परेका र अन्य स्थानीय समुदायलाई सूचना प्रवाह र राहत वितरण तथा स्थानीय सरकारको सेवा प्रदान गर्न सहजीकरण गरेको थियो ।
एकीकृत रूपमा सञ्चालित यस परियोजनाले विपद्को समयमा सामुदायिक रेडियोहरूको महत्त्व दर्साउनुका साथै भविष्यमा विपद् पश्चात् रेडियोहरूलाई पार्दै खेल्नुपर्ने भूमिकालाई उदाहरणको रूपमा स्थापित गरेको र यो सम्मानले सामुदाकि रेडियोहरुलाई थप हौसला मिलेको अकोराबका कार्यकारी निर्देशक प्रमोद तण्डुकारले बताउनुभयो ।
यसका साथै स्थानीय सामुदायिक रेडियोहरूले भूकम्प गए पश्चात् हुन सक्ने र भएका नकारात्मक क्रियाकलापहरूलाई निस्तेज गर्न सक्रिय भूमिका खेलेका अकोराबका अध्यक्ष अर्जुन गिरीले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१, १६:१२