सिन्धुली । गोलन्जोर गाउँपालिकाको खुर्कोट–७ मा रहेको करिब २५ टन प्लास्टिकजन्य फोहोर सुनकोसी नदीमा चुहावट हुनबाट रोकिएको छ । क्याप परियोजना अन्तर्गत क्रिएसन नेपालले गोलन्जोर गाउँपालिकासँग मिलेर प्लास्टिकजन्य फोहोर सङ्कलन गरी सफाइ गरेको हो ।
क्याप परियोजनाअन्तर्गतको नदी सरसफाइ अभियान परियोजनाले परिचालन गरेको युवा स्वयंसेवक (यूथ कोहर्ट), सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवालासँगको सहकार्यमा १ सयभन्दा बढी सहभागीले सरसफाइ अभियानमा साथ दिएका थिए ।
सरसफाइ अभियानका प्रमुख अतिथि गोलन्जोर गाउँपालिका अध्यक्ष शङ्कर बरालले पालिकाले गर्नु पर्ने काम संस्थाले गरेर राम्रो काम गर्न थप हौसला दिएको बताउनुभयो । बढ्दो सहरीकरणले पोहोर मैलाको समस्या विकराल बन्दै गएको मा चिन्ता व्यक्त गर्दै उहाँले नागरिक स्तरबाटै यसलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
क्रिएसनका संस्थापक अध्यक्ष आनन्द मिश्रले प्राकृतिक स्रोतको संरक्षणमा व्यक्तिगत जिम्मेवारीको महत्वलाई विशेष जोड दिनुभयो । प्रकृति संरक्षण जस्ता महत्त्वपूर्ण कामको लागि अन्य प्रेरणा वा आर्थिक सहयोगमा मात्र भर पर्नु नहुने बरु यो प्रतिबद्धता सबै नागरिकबाट आउनुपर्ने बताउनुभयो ।
क्याप परियोजना प्रमुख उज्ज्वल उपाध्यायले कम्तीमा १२ वटा नदी सरसफाइ अभियान एक साथ सञ्चालन गर्ने जानकारी दिनुभयो । परियोजना सन्चालन हुने सात स्थानीय पालिकासँग परियोजना कार्यान्वयन गर्न द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरी सकेको जानकारी गराउँदै उहाँले प्रमुख नदीका प्लास्टिकजन्य फोहोर चुहावट हुने स्थानमा नदी सरसफाइ अभियान सञ्चालन गरिने बताउनुभयो ।
गोलन्जोर गाउँपालिकासँगको सहकार्यमा एक्साभेटर र दुई वटा टिप्पर परिचालन गरी पालिकाद्वारा प्रस्तावित ल्यान्डफिल साइटमा स्थानान्तरण गरिएको छ । नयाँ ल्यान्डफिल साइटको लागि बाटो खोल्नुका साथै अब सफा गरिएको हटस्पटमा फोहोर नफाल्ने गोलाञ्जर गाउँपालिकाले प्रतिबद्धता जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१, २०:०३