काठमाडौँ । नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियान–२०२४ अन्तर्गत ११ टन फोहोर, चार वटा शव र एक अस्थिपञ्जर सङ्कलन गरिएको छ। काठमाडौँमा बुधवार आयोजित अभियान समापन समारोहमा नेपाली सेनाले यसबारे जानकारी गराएको हो।
समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले ५५ दिनसम्म सञ्चालित अभियानमा करिब ११ टन फोहोर, साथसाथै बेवारिसे अवस्थामा रहेका ४ वटा मानव शव र १ अस्थिपञ्जर सङ्कलन गर्न सफल भएको जानकारी दिनुभयो ।
प्रतिकुल मौसम तथा विषम परिस्थितिका बिच सञ्चालित अभियानमा कति फोहोर सङ्कलन भयो भन्ने कुराले मात्र अभियानको महत्त्व उजागर नहुने भन्दै उहाँले अभियानको पूर्व र पश्चातका उपलब्धीले नेपाली नागरिकले अन्तर्राष्ट्रिय रूपमा प्रकृति तथा पर्यावरण संरक्षणमा देखाएको प्रतिबद्धता पनि उजागर गरेको बताउनुभयो ।
प्राकृतिक संरक्षण कार्यमा सेना खटाउने कुरा थोरै देशमा मात्रै हुने उदाहरण दिँदै प्रधान सेनापति शर्माले झन्डै एक लाख फौज भएको देशले १० हजार जना सैनिकलाई वातावरण संरक्षणमा प्रयोग गर्नु उदाहरणीय भएको बताउनुभयो ।
सफा हिमाल अभियानले आवश्यक पर्दा उच्च हिमाली क्षेत्रमा हुनसक्ने विपद् तथा अन्य अवस्थामा परिचालन हुनुपरे नेपाली सेनालाई तालिम पनि दिएको उहाँले जानकारी दिनुभयो । धेरैजसो हिमाल पग्लिने चरणमा रहेको भन्दै उहाँले यो गम्भीर चिन्ताको विषय भएको बताउनुभयो । नेपाली सेनाले चैत २९ गतेदेखि अभियान सञ्चालन गरेको थियो।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१, १८:३७