विश्वभर ५ वर्ष मुनिका ४० करोड बालबालिकाले घरमा नियमित रूपमा हिंसात्मक अनुशासनको अनुभव गरिरहेको संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले जनाएको छ ।
युनिसेफले हिजो जारी गरेको एक प्रतिवेदनअनुसार ५ वर्षमुनिको उमेर समूह भित्रका ६० प्रतिशत अर्थात् ४० करोड बालबालिकाले नियमित रूपमा घरमा मनोवैज्ञानिक आक्रामकपन वा शारीरिक दण्ड भोगिरहेका छन् । उनीहरूमध्ये लगभग ३३ करोड जनाले शारीरिक रूपमा सजाय पाएका छन् ।
युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले बालबालिकाले घरमा शारीरिक वा मौखिक दुर्व्यवहार भोग्दा उनीहरूको आत्म–मूल्य र विकासको भावनालाई कमजोर पार्न सक्ने बताउनुभयो । अनुसन्धानले ४ मध्ये १ भन्दा बढी आमा र प्राथमिक हेरचाहकर्ताले बच्चालाई उचित रूपमा हुर्काउन र शिक्षा दिन शारीरिक सजाय आवश्यक रहेको विचार व्यक्त गरेका प्रतिवेदनमा उल्लेख छ ।
युनिसेफले प्रत्येक बालबालिका सुरक्षित र मायालु वातावरण महसुस गर्दै हुर्केको सुनिश्चित गर्न, घरमा बालबालिका विरुद्ध हुने सबै प्रकारका हिंसालाई निषेध र अन्त्य गर्ने कानुनी र नीतिगत ढाँचालाई बलियो बनाउन सरकारहरूलाई आह्वान गरेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१, ०९:४७