ताप्लेजुङ । ताप्लेजुङमा वर्षासँगै आएको पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ ।
फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा आज बिहान साढे १ बजे पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको वडाध्यक्ष भुपेन्द्र चौलागाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रबिन साम्रा (विकास) को बुवा ७० वर्षीय रामबहादुर साम्रा, आमा ५० वर्षीय जसमाया, जुम्ल्याहा बहिनी गंगा र जमुना रहनुभएको छ ।
४ जनाको शव घरदेखि करिब ५० मिटर तल फेला परेको वडाध्यक्ष चौँलागाईले बताउनुभयो ।
घरदेखि करिब २ सय मिटर माथिबाट आएको पहिरोले घरसहित ४ जना मानिस र ७० ओटा भन्दा बढी पशुचौपाया बगाएको हो ।
घट्नास्थलमा हाल सिँवा प्रहरी चौकीको टोली खटेको र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक कमलकुमार लुङगेलीको नेतृत्वमा थप प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
सोही पालिकामा हिजो मात्रै खोलामा आएको बाढी पहिरोले विभिन्न स्थानका ४ ओटा काठबाट निर्मित मोटरेबलपुल बगाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८१, ०७:४६