काठमाडौँ । १८ वर्षअघि अर्घाखाँचीबाट विहे गरेर नेपालगञ्ज झर्दा, कस्मीरा १४ वर्षको हुनुहुन्थ्यो । सुरुका केही वर्ष दुख, कष्ट र अभावमा बिते । अभावले कस्मीरालाई मिहेनत गर्न र जित्न सिकायो ।
कस्मीरा खातुनको कथा १३ हजार ऋणबाट सुरु हुन्छ । माइतमा हुँदा हल्का रूपमा मात्र सिलाइकटाइ सिकेको सुनाउँदै उहाँले भन्नुभयो, ‘नेपालगञ्जमा झर्दा एकदमै कम्जोर स्थिति थियो हाम्रो । बच्चाहरूलाई पढाउन र श्रीमानको उपचार गर्नको लागि मलाई धेरै गाह्रो भएको थियो । अनि मैले एउटा आमा समूहको दिदीबहिनीसँग भनेर १३ हजार ऋण काढेँ र ८ हजारको मेसिन ल्याएँ ।’
कस्मीराले आमा समूहबाट लिएको ऋण मध्ये ८ हजारको कपडा सिलाउने मेसिन किन्नुभयो भने बाँकी ५ हजारको पेटीकोटको थान कपडा । अनि आफ्नै घरमा सुरुभयो, कपडा सिलाउने काम ।
लगभग दुईतीन वर्ष पेटिकोट, म्याक्सी सिलाएर गुजारा चलाउँदै गर्दा माग पनि धेरै आउन लाग्यो । त्यसपछि ८ हजारकै दुईतीनवटा मेसिन पनि थपेको सम्झँदै उहाँले सुनाउनुभयो, ‘वरपरका पीडित दिदीबहिनीहरूलाई पनि सिलाइकटाइ सिकाएँ । लगभर तीनचारजनालाई सिकाउने अवसर पाएँ ।’
२०७४ पुस २६ गतेको दिन कस्मीराका लागि ठीक थिएन । मध्यरात विद्युतको तार सट भयो र आगलागि भयो । उद्योगमा केही पनि बाँकी रहेन । ६ वर्ष लगाएर गरेको कमाइ, छिनभरमै स्वाहा भयो ।‘त्यो बेला कहाँ मात्र बिझाएन ? कहाँ मात्र दुखेन ? सायद, आगो निभाउन पुग्ने गरी आँसु बग्यो होला ।’
कस्मीराले माइती छँदै, कपडा सिलाउन सिक्नु भएको थियो । ‘स्कुल पढ्दा, दिउँसो १ बजे साथीको घरमा गएर कपडा सिलाउन सिक्थें ।’ उहाँ सम्झनुहुन्छ, ’त्यही सिकाई जीवनमा सन्जीवनी झैँ भईदियो ।’
एउटा पेटिकोट सिलाए बापत ५ रुपैयाँ र म्याक्सी सिलाएको १० रुपैयाँ पाइन्थ्यो । ती दिनहरूमा यति थोरै भए पनि पैसा कमाउन थालेकोमा उहाँलाई खुसी त लाग्ने नै भयो । पेटिकोट र म्याक्सी सिलाउँदासिलाउँदै कस्मीराको मिहेनतको सियोमा सफलताका शृङ्खलाहरू पनि उनिँदै गए ।
एकपछि अर्को कपडा सिलाईका मेसिन थपिँदै गए । मेसिनसँगै कामदारहरू थपिन थाले । कामदारसँगै थपिए नयाँ नयाँ डिजाइन र सफलता पनि । अनि बन्यो ‘लुम्विनी कपडा उद्योग’ ।
काम खोज्दै नेपालगञ्जका गल्ली गल्ली भौँतारिने कस्मीरा, ६ वर्षको बीचमा उद्यमी बन्नुभयो । उहाँको उद्योगमा ६० जनाभन्दा बढीले काम पनि पाए ।
‘मलाई ५ सय पिस ल्याउनू, १ हजार पिस दिनू भनेर पनि होलसेल पार्टीले भन्न थालेपछि मेरो हौसला बढ्यो । बढ्दाबढ्दै ६ वर्षमा ढाइतीन करोडको चोखो आम्दानी गर्न सकेँ ।’ कस्मीराले भन्नुभयो ।
कस्मीराले सिलाएका कपडाको बजारमा माग बढ्न थाल्यो । व्ययसाय बढ्दै गयो । काम भ्याईनभ्याई हुन थाल्यो । कस्मीराले अगाडि थप्नुभयो, ‘कहिलेकाँही कपडा उद्योग आफ्नै होईन कि झैँ लाग्थ्यो ।’ छक्क पर्थेँ । धेरै कामदार थिए, राम्रो कमाई थियो । विगतका दिनहरू सम्झनामा आउँथे र कस्मीरालाई भित्रभित्रै रुवाउँथे ।
मुस्लिम समुदायको महिलाको सफलता भनेर समाजमा उदाहरण दिँदै हिँड्छन् । कस्मीरा खातुनको सफलतामा घरपरिवार, छरछिमेक र नेपालगञ्जका व्यापारीहरू जोडिएका छन् तर उहाँलाई दुख यसकारण लाग्छ कि अहिलेसम्म सरकार जोडिएको छैन ।
सबै ठीकठाक थियो । तर २०७४ पुस २६ गतेको दिन कस्मीराका लागि ठीक थिएन । मध्यरात विद्युतको तार सट भयो र आगलागि भयो । उद्योगमा केही पनि बाँकी रहेन । ६ वर्ष लगाएर गरेको कमाइ, छिनभरमै स्वाहा भयो ।
‘त्यो बेला कहाँ मात्र बिझाएन ? कहाँ मात्र दुखेन ? सायद, आगो निभाउन पुग्ने गरी आँसु बग्यो होला ।’ खरानी भएको त्यसबेलाको उद्योग र रित्तिएका आँखा सम्झँदा कस्मीराका गह फेरि आँसुले भरिए ।
आगोले उद्योगमात्रै खरानी बनाएन । कस्मीराका सपना र योजना पनि छिन्नभिन्न भए । तर उद्योग जलेर बनेको खरानी र धुवाँसँगै फेरि सुरु भयो कस्मिराको अर्को कथा । नेपालगञ्जका केही व्यापारीले साढे १० लाख उठाए र कस्मीरालाई दिए ।
‘१३ हजारले त्यत्रो उद्यम गरेकी मलाई साढे १० लाख भएपछि के चाहियो, सबै दुख बिर्सिएर, फेरि मिहेनत गरेँ । मेसिन मगाएँ, काम थालेँ ।’ सीआईएनसँगको कुराकानीमा अब कस्मीराका आँखा अघिझैं रुन्चे देखिएनन् ।
डेढ वर्षमै कस्मीराको उद्योग तङग्रीन सक्यो । उद्योगसँगै कामदार पनि काममा फर्किएका छन् । कामसँगै कस्मिराको खुशी मात्र फर्किएको छैन, समाजले हेर्ने नजर पनि बदलिएको छ । पेटिकोट सिलाउँदाका दिनमा खिसीटिउरी गर्नेहरू अचेल काम खोज्दै आउँछन् ।
मिहेनत गर्नुअघि केहि गर्ने सपना देख्नुपर्छ, अनि सपना पूरा गर्न चाहिन्छ, हिम्मत । दुख, कष्ट र समस्याहरूसँग नहारे समाजको उदाहरण बन्न सकिन्छ । ‘कस्मीरा’ कहिल्यै नहार्ने नाम बनेको छ । सिको गर्नेहरु पनि बढेका छन् ।
मुस्लिम समुदायको महिलाको सफलता भनेर समाजमा उदाहरण दिँदै हिँड्छन् । कस्मीरा खातुनको सफलतामा घरपरिवार, छरछिमेक र नेपालगञ्जका व्यापारीहरू जोडिएका छन् । तर उहाँलाई दुख यसकारण लाग्छ कि अहिलेसम्म सरकार जोडिएको छैन ।
कस्मीराले २ सय भन्दा धेरैलाई सिलाइकटाइको सीप सिकाउनुभयो । तर सरकार कतै जोडिएन । उहाँ भन्नुहुन्छ, ‘उद्यमीलाई अनुदानका कुरा रेडियो, टेभीमा सुनिन्छ, तर मलाई त कसैले केही सहयोग गरेको छैन ।’
सरकारले सघाए, व्यवसाय अझै राम्रो हुन्थ्यो र अरु धेरैले रोजगारी पाउँथे भन्ने उहाँलाई लागेको छ ।
कस्मीराको पढाई कक्षा ७ भन्दा अघि बढेन । तर हिम्मत र परिश्रमलाई पढाईले नरोक्ने रहेछ भन्ने उदाहरण पनि उहाँ नै बन्नुभयो । स्नातक पढेकाहरूलाई जागिर दिन सकेकोमा कस्मीरालाई गर्व लाग्छ । उहाँको उद्योगमा महिनाको ८० हजारसम्म तलब खाने कर्मचारीहरू छन् ।
उहाँका उद्योगमा भारतीय र बंगलादेशीसहित १ सयभन्दा बढी आवद्ध छन् । नेपाली दाजुभाइ वा दिदीबहिनीलाई आफैंले सीप सिकाउने र जागिर दिने योजना मात्रै छैन देशभरिका दिदीहिनीलाई उद्यमी बनाउने सपना कस्मीराको छ ।
मिहेनत गर्नुअघि केहि गर्ने सपना देख्नुपर्छ, अनि सपना पूरा गर्न चाहिन्छ, हिम्मत । दुख, कष्ट र समस्याहरूसँग नहारे समाजको उदाहरण बन्न सकिन्छ । ‘कस्मीरा’ कहिल्यै नहार्ने नाम बनेको छ ।
प्रकाशित मिति: शनिबार, साउन १८, २०७६, १५:५५