काठमाडौँ । मधेस प्रदेशमा पनि मनसुनको सामान्य प्रभाव देखिन थालेको मौसमविद्ले बताएका छन् ।
गत सोमवार देशको पूर्वी भेगबाट प्रवेश गरेको मनसुन कोशीबाहेक अरु प्रदेशमा फैलन नसक्दा जनजीवन गर्मीले कष्टकर बनेको छ ।
कोशी प्रदेशमा मात्रै रुमलिएको मनसुनी वायुको प्रभाव मधेस प्रदेशमा पनि देखिन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रभावले आज मधेस प्रदेशको मौसम बदली हुने तर पानी पर्ने सम्भावना भने कम रहेको महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार मनसुनको प्रभाव देखिन थाले पनि पानी पार्ने प्रणाली भने सक्रिय हुन अझैँ समय लाग्ने देखिएको छ ।
कोशी, मधेस र बागमती प्रदेशमा मनसुनको सामान्य प्रभाव देखिए पनि मध्ये र पश्चिम तराईमा भने अझै तातो हावाको लहर चल्ने उहाँले जानकारी दिनुभयो ।
आज दिउँसो कोशी र मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा मधेश प्रदेशसहित देशका बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८१, ०८:४८