काठमाडाैँ । सरस्वती प्रतीक्षाको उपन्यास 'स्व' लोकार्पण भएको छ । शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवम् पत्रकार घनश्याम खड्का र लेखक सगुना शाहले पुस्तक लोकार्पण गर्नुभएको हो ।
पुस्तकमाथि टिप्पणी गर्दै शाहले 'स्व' स्व-अस्तित्वको खोजको कथा भएको बताइन्, "जब सप्तमले आफूलाई चिन्नलाई कोसिस गर्छ, तब उसले त्यसलाई आफ्नो अस्तित्वसँग जोडेर त्यसैको खोजीमा लागेको छ ।" उपन्यासको मुख्य पात्र सप्तमबारे टिप्पणी गर्दै उहाँले थप्नुभयो, "बौद्ध-दर्शन र त्यसको संवरणलाई सरस्वतीजीले सप्तममार्फत उतार्नुभएको छ । बहुरूपी सप्तमको यात्रा रोचक र चित्ताकर्षक छ । कलात्मक भाषा-शैली र कथा वाचनले उपन्यास उच्च कोटीको बनेको छ ।"
उपन्यासबारे पत्रकार तथा लेखक घनश्याम खड्काले मानिसका प्रयत्न खुसीको खोजी भएको र आफैँभित्रको यात्राबाट मात्रै त्यो सम्भव भएको बताउनुभयो । "त्यही यात्राको खोजका निम्ति सप्तमको मनोविज्ञानलाई चित्रांकन गर्दै सरस्वतीजीले सुन्दर उपन्यास सृजना गर्नुभएको छ । बौद्ध-दर्शनको मार्गमा पात्रको मनस्थितिलाई विभिन्न तहहरूमा बुन्दै यति सुन्दर उपन्यास लेख्नु जीवनभित्रको दर्शन पनि हो । जीवनको फराकिलो फलकमा लेखिएको एक सुन्दर कृति नेपाली पाठकले पाएका छन् " उहाँले भन्नुभयो ।
लेखक सरस्वती प्रतीक्षाले उपन्यास लेख्न ७ वर्ष लागेको जानकारी दिँदै आफ्नो अध्ययन, अनुभव र ज्ञानलाई उपन्यासमा चित्रण गर्ने कोसिस गरेको बताइन्, "यसमा समाज छ, दर्शन छ र चिन्तन रहेको र शिल्पमा स्वैरकल्पनाको प्रयोग गरेको बताउनुभयो ।
सात वर्षअघि प्रकाशित 'नथिया' उपन्यासबाट पाठक र समीक्षकको राम्रो प्रतिक्रिया पाएकी सरस्वती प्रतीक्षाको यो दोस्रो उपन्यास हो । बुकहिल पब्लिकेसनले प्रकाशन गरेको २९६ पृष्ठको 'स्व'को मूल्य ५९९ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८१, १९:१२