टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । जारी प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपाल २१ रनले पराजित भएको हो ।
१०७ रनको लक्ष्य पाएको नेपाल ८५ रनमा अलआउट भयो । नेपालका लागि कुुशल मल्लले २७, दीपेन्द्रसिंह एेरीले २५ र आसिफ शेखले १७ रन बनाउनुभयो ।
२६ रन जोड्दा पाँच विकेट गुमाएर दबाबमा आएको नेपालको छैटौ विकेटका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले ५२ रनको साझेदारी गर्दै जितको आशा देखाए पनि त्यो जितका लागि पर्याप्त भएन । कुशल आउट भएपछि नेपालले लगालग जसो विकेट गुमायो भने आवश्यक रन जोड्न सकेन । भरपर्दा ब्याटरका रुपमा चिनिएका दीपेन्द्रले १९ ओभरका ५ बलमा कुनै रन जोड्न सक्नुभएन भने अन्तिम बलमा आउट हुनुभयो ।
अन्तिम ओभरमा २२ रन चाहिएको अवस्थामा ओभरको पहिलो बलमा ठूलो सट हान्न खोज्दा सोमपाल पनि आउट भएसँगै नेपाल हारको नजिकै पुगेकाे थियो ।
लराउन्डर गुल्सन झा फेरि एकपटक जिम्मेवारी निर्वाहमा चुक्दै शुन्य रनमा पेबिलियन फर्केपछि नेपालको हारको सम्भावना बढ्दै गएको थियो ।
कुशलले ४० बलमा २७ र दीपेन्द्रले ३१ बलमा २५ रन बनाउनुभयो ।
कुशल भुर्तेल ४ तथा कप्तान रोहितकुमार पौडेल र सन्दीप जोरा एक एक र अनिल साह शुन्य रनमा आउट हुनुभएको थियो ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेश १७ ओभर ३ मा १०६ रनमा अलआउट भएको थियो
नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र सन्दीप लामिछानेले दुई दुई विकेट लिनुभयो ।
सोमपालले ३ ओभरमा १०, रोहितले ४ ओभरमा २०, सन्दीपले ४ ओभरमा १७ र दीपेन्द्रले ३ ओभर ३ बलमा २२ रन दिनुभयो ।
सोमपालले पहिलो बलमै तान्जिद हसनलाई आउट गर्दै नेपाललाई सुखद सुरूवात गराउनुभयो । दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले नजमुल हसनलाई ४ रनमा बोल्ड गरे पछि नेपालले सुरुबाटै दबाब बढाएको थियो । सोमपालले पाँचौँ ओभरमा लिट्टन दासलाई आउट गर्नुभयो ।
पावर प्लेको अन्तिम ओभरमा कप्तान रोहित पौडेलले तोवहिद हृदयको विकेट लिएसँगै बंगलादेश पावर प्लेमा ३१–४ को कमजोर अवस्थामा पुगेको थियो ।
रोहितले भेट्रान अलराउन्डर शकिब अल हसनलाई १७ रनमा एलबीडब्लु धरापमा पर्नु अघि मोहमदुल्लाह रन आउट भइसक्नुभएको थियो ।
सन्दीप लामिछानेले २ विकेट लिँदै बंगलादेशलाई लगातार दबाबमा मात्र राख्नुभएन ट्वान्टी(२० अन्तर्राष्ट्रियमा १ सय विकेट लिने पहिलो नेपाली खेलाडी पनि बन्नुभयो ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८१, ०८:४८