काठमाडौँ । नेपाली रेडियोका समाचार बुलेटिन र कार्यक्रमहरू अब आफ्नो अनुकूल समयमा सुन्न सकिने भएको छ। सामान्यतया रेडियोबाट प्रसारण हुने सामग्री प्रसारण भएकै बेला अर्थात् लाइभ सुन्नुपर्ने बाध्यता रहेकोमा अब आफ्नो अनुकूल समयमा आफूले चाहेको समाचार बुलेटिन र कार्यक्रम सुन्न सकिने व्यवस्था गरिएको ‘नेपाली पात्रो’ले जनाएको छ ।
नेपालमा पहिलो पटक, नेपाली रेडियोबाट प्रसारण हुने कार्यक्रम नेपाली पात्रोमा श्रोताको समय अनुसार सुन्न सकिने नेपाली पात्रोले जनाएको हो । सम्बन्धित रेडियोको पछिल्लो ४८ घण्टाका कार्यक्रम नामसहित अडियोमा उपलब्ध हुने नेपाली पात्रोले जनाएको हो । यसका लागि, नेपाली पात्रो डाउनलोड गरेर रेडियो फिचरमा सम्बन्धित रेडियोको पेजमा छुटेका तथा प्रसारित कार्यक्रमहरूको नाम तथा प्रसारण समय उपलब्ध हुनेछ ।
नेपाली पात्रोमा अहिले नेपालका चार सयभन्दा बढी रेडियोका सूचना, जानकारीमूलक तथा मनोरञ्जनात्मक सामग्रीका साथै अन्य विभिन्न जानकारी पनि सुन्न र पढ्न सकिन्छ।
‘नेपाली पात्रो’लाई अझ उपयोगी तथा प्रयोगकर्तामैत्री बनाउन नयाँ प्रविधिको प्रयोगमा काम गर्दै सुरक्षित प्रविधि प्रयोगको सुनिश्चितता गर्नुका साथै प्रयोगकर्ताको सल्लाह र सुझावलाई आत्मसाथ गर्दै आगामी दिनमा अघि बढ्ने कम्पनीले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८१, १३:३३