काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टोलीका कमजोरी आगामी दिनमा सुधारेर अघि बढ्ने बताउनुभएको छ ।
टी ट्वान्टी विश्वकपमा सहभागी भएर बिहीबार स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनमा उहाँले टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिका कारण चाहेजस्तो नतिजा ल्याउन नसकेको भन्दै कमीकमजोरी सुधारेर अघि बढ्ने बताउनुभयो ।
अमेरिका र वेस्टइण्डिजको मैदान नै बलिङमैत्री भएका कारण पनि ब्याटरले चाहेजस्तो प्रदर्शन गर्न नसकेको बताउनुभयो । नेदरल्यान्ड्ससँगको खेल भएको मैदानकै कारण राम्रो नतिजा आउन नसकेको भन्दै उहाँले अमेरिकाको पिचमा कुनै टिमले पनि ठुलो स्कोर बनाउन नसकेको बताउनुभयो ।
ब्याटिङ र फिल्डिङमा भएका केही कमजोरी सुधार्ने भन्दै उहाँले ब्याटरलाई मात्रै दोष दिएर नहुने तर सुधार भने आवश्यक रहेको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८१, १६:२२