काठमाडौँ । बाढी, पहिरो र चट्याङबाट मङ्गलवार राती र बुधवार साँझसम्म गरी १३ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा ७ जना, कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा २÷ २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लमजुङको क्वहोलासोथार गाउँपालिका ३ बगुममा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी पञ्चकुमारी, नातिनीहरू ४ वर्षीया निश्मा र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको हो ।
लमजुङकै दोर्दी गाउँपालिका ९ का विकल सुनारको पहिरोमा परि मृत्यु भएको छ ।
यस्तै पहिरोमा परि कास्कीको मादी गाउँपालिका ५ चितेपानी घुम्तीमा१३ वर्षीया आयुष्मा रानाभाट र पोखरा महानगरपालिका २७ मा तीन वर्षीय अनमोल सुनारको मृत्यु भएको छ । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका ५ थुम्कीमा आज बिहान पहिरोले घर पुर्दा देवकुमारी खत्रीको मृत्यु भएको छ भने मोरङको रङ्गेली नगरपालिका ४ मा बाढीमा परि नागेन मण्डलको मृत्यु भएको छ । यसै गरी चट्याङ लागेर कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० मा राज ठाकुर र यहोधरा गाउँपालिकाका महेश कलवार तथा कैलालीको जोशीपुर गाउँपालिकामा जयराम डगौरा र धनगढी उपमहानगरपालिका १८ का शालिम चौधरीको मृत्यु भएको छ ।
यसैबिच मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाका माैसविद् गाेविन्द झाले वर्षासँगै बाढी, पहिरोको जोखिम रहेकाले सचेत रहन अनुरोध गर्नुभयो ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८१, २०:०१