काठमाडाैँ । गत वर्ष लिइएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले बिहीबार नतिजा सार्वजनिक गरेको हो। जसअनुसार ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले ११ कक्षा अध्ययन गर्न पाउने भएका छन् ।
प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्था लागू गर्दै एसईईको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।
नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको हो । जसअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अङ्क अर्थात् १ दशमलव६ जीपीएभन्दा कम अङ्क ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन् । उनीहरूलाई ग्रेडसिट उपलब्ध नगराउने बोर्डले जनाएको छ ।
दुई विषयसम्म एनजी आएका विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । जुन विषयमा एनजी भएको हो सोही विषयमा मात्र परीक्षा दिए हुने बोर्डले जनाएको छ । ग्रेडवृद्धिको परीक्षाको तालिका केही दिनमा सार्वजनिक गरिने पनि बोर्डले जनाएको छ ।
दुई विषयभन्दा बढीमा एनजी आए अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था छ । यस्ता विद्यार्थीले ३ वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउनेछन् ।
ग्रेडिङमा परेका विद्यार्थी मात्रै माथिल्लो कक्षामा अध्ययन गर्न योग्य हुनेछन् । यसअघि सैद्धान्तिक र प्रयोगात्मकतर्फको प्राप्तांक जोडेर ३५ अंक ल्याए पनि विद्यार्थी ग्रेडसिट प्राप्त गर्थे ।
गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी थिए । तीमध्ये ४ लाख ४९ हजार साधारण धारतर्फका विद्यार्थी हुन् । १५ हजार प्राविधिक धारतर्फका विद्यार्थी छन् ।
एसइई नतिजा ११ वटा संस्थाको वेबसाईट, आइभीआर र एसएमएसमार्फत् हेर्न सकिने कार्यालयले जनाएको छ।
कार्यालयको सूचनाअनुसार नेपाल टेलिकमको १६०० मा एसएमएस र आइभिआर मार्फत्, स्विफ्ट टेक्नोलोजी प्रा.लि.मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी ३५००१ मा कोडमा, इजी सर्भिसको ३४९४९ कोडमा र आकाश टेकको ३१००३ कोड राखेर एसएमएस गरेर नतिजा हेर्न सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
यस्तै राष्ट्रिय परिक्षा नियन्त्रण कार्यालय,परीक्षा बोर्ड, खल्ती, ईसेवालगायतको वेवसाइटबाट पनि परीक्षाफल हेर्न सकिने कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८१, १०:३५