काठमाडाैँ । गुगलको अनुवाद अर्थात् ट्रान्सलेसन सेवामा नेपाल भाषा पनि समावेश भएको छ । सर्च इन्जिन प्लेटफर्म गुगलले थप गरेका विश्वका ११० भाषामध्ये नेवार समुदायको मातृभाषा नेपाल भाषालाई पनि समेटेको हो।
यससँगै अब गुगल ट्रान्सलेटबाट विभिन्न भाषालाई नेपाल भाषामा र नेपाल भाषालाई अन्य भाषामा उल्था गर्न सकिने भएको छ ।
गुगलले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई प्रयोग गरी विविध भाषा उल्था गर्ने सुविधा ल्याएको जनाएको छ । एआईको पाल्म–२ ल्याङ्ग्वेज मोडलको सहयोगमा क्यान्टोजी, अफ्रिकामा बोलिने फन, स्वाती, वलोफसँगै नेपालको नेवारी भाषालाई गुगल ट्रान्सलेटमा राखिएको गुगलको ब्लग पोस्टमा उल्लेख गरिएको छ ।
विश्व नेवा सङ्गठनले सन् २०२१ देखि नै गुगल ट्रान्सलेटका इन्जिनियर समूहलाई अङ्ग्रेजीबाट नेपाल भाषामा अनुवाद गर्ने परियोजनाका लागि सहयोग गरिरहेका थिए ।
गुगलले सन् २०१३ को डिसेम्बरमा नेपाली भाषालाई गुगल ट्रान्सलेट सेवामा समावेश गरेको थियो । गुगल ट्रान्सलेटमार्फत भाषागत अवरोधलाई छिचोल्दै मानिसलाई आपसमा जोड्न खोजिएको गुगलको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८१, १४:३७