काठमाडौँ । नेपाली कांग्रेसले नयाँ सरकार गठनको बाटो खुला गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संसदको पहिलो र दोस्रो ठूला दलहसहित अन्य दलले समेत नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेको अवस्थामा प्रधानमन्त्रीलाई नयाँ सरकार गठनको बाटो खुला गरिदिन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
'दुई ठुला दलले मिलेर सरकार बनाउने भनिसकेपछि त स्वाभाविक रूपमा सम्माननीय प्रधानमन्त्रीजीले मार्ग प्रशस्त गर्नुपर्छ । त्यो पनि हाम्रो निर्णयमा आएको छ’ प्रवक्ता महतले भन्नुभयो, ‘उहाँले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ । र, अरू दलको समेत समर्थन घोषणा भइराखेको छ । यो जुन नयाँ समीकरण बनेको छ । यो सम्बन्धमा हाम्रो कार्य सम्पादन समितिको बैठकले सम्माननीय प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न पनि आग्रह गरेको छ ।’
कांग्रेस–एमाले नयाँ समीकरण बनेपछि पनि प्रधानमन्त्री प्रचण्डले संसद्को सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका बेला कांग्रेसले औपचारिक रुपमा यस्तो निर्णय गरेको हो । यसअघि हिजो नेकपा एमालेले पनि प्रधानमनत्रलिाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो ।
बैठकले नयाँ सत्ता समीकरणका लागि एमालेसँग गरिएको समझदारी पनि अनुमोदन गरेको छ । बैठकले संविधान संशोधन गर्ने दुई दलबिचको समझदारी सबै दलहरूसँग सघन छलफल गरेर मात्रै बढाउने पनि स्पष्ट पारेको प्रवक्ता महतले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८१, १२:३६