ललितपुर । ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यको घरको कम्पाउन्ड पर्खाल भत्काएको छ । सार्वजनिक जग्गा मिचेको पाइएको भन्दै ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो ।
स्थानीय सम्पदा संरक्षण अभियन्ता र गुठियार र स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन पटक पटक माग गरेपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गर्दा पनि नमानेपछि डोजर लगाएको ललितपुरका मेयर चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।
तर आयुक्त अमात्यका श्रीमान दिवस अमात्यले आफुहरूले महानगरपालिकाबाटै नक्सा पास गरेर घर बनाएकाे र पर्खाल भत्काउन महानगरले कुनै सूचना नदिइ एक्कासी पर्खाल भत्काएको सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८१, १६:११