काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ ।
नेपाली सेनाका अनुसार जोडी सुरुङमध्ये १ हजार ६ सय १२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग छिचोलिएको हो ।
प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यममार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गर्दै तोकिएको समयमानै सुरुङमार्गहरु छिचोलिने क्रम रहेकोमा खुसी व्यक्त गर्नुभयो । नेपाल सरकारबाट नेपाली सेनालाई जिम्मेवारी प्राप्त राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
तोकिएकै समयमा आयोजना सम्पन्न गर्नसमेत सेनापति शर्माले निर्देशन दिनुभयो ।
२०८१ जेठ ०४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १ हजार ६ सय ३३ मिटर लम्बाइको सुरुङमार्ग र २०८१ ज्येष्ठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १ हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्गहरू छिचोलिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८१, ०८:०५