काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्ने मौसमविद्ले बताएका छन् ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा रहेकाले अबको तीन दिन ठूलो पानी पर्ने देखिएको मौसमविद्ले बताएका हुन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राति कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावमा रहेको छ ।
भोलिदेखि भने भारी वर्षा हुने क्रम बढ्ने देखिएको छ । भोलि दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एकदुई स्थानमा भारीको सम्भावना छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा पनि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
२५ दिनमा ४५ जनाको मृत्यु
यसवर्ष मनसुन भित्रिए यताका २५ दिनमा विपदका घटनामा परी नेपालमा ४५ जनाको मृत्यु भएको छ ।
यो अवधीमा भएका बाढी, पहिरो, डुबान र चट्याङका ४ सय वटा घटनामा ४५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो ।
बाढी र पहिरोका कारण ४६ वटा भौतिक संरचना पुणर् क्षतिग्रस्त भएको, २ सय ५९ जनावर मरेको र ८ करोड २० लाख भन्दा बढीको नोक्सानी भएको पनि प्राधिकरणले जनाएको छ ।
आउँदो आइतबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
जिल्ला नछा्ड्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन
गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्व गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उहाँले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय पालिकासँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।
प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने उल्लेख गर्दै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ ।
तत्काल उद्धार र राहतका लागि हेलिकप्टरदेखि अन्य प्रभावकारी स्रोतसाधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई उहाँले अनुरोध गर्नुभएको छ ।
गृहसचिव अर्यालले विपद्बाट मानवीय क्षति व्यहोर्न पुगेका परिवारहरूमा आफैँ उपस्थित भई आवश्यक सहयोग गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८१, ०९:४१