काठमाडौँ । आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा दिनभरि नै पानी पर्ने भएकाले सम्भावित जोखिमको आँकलन गरी सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
नदीमा जलसतह बढ्ने, डुवान हुने, खहरे खोलाले क्षति पुर्याउने जोखिम रहेको जलवायुविज्ञ धर्मराज उप्रेतीले बताउनुभयो । उहाँका अनुसार पहाडमा पहिरोको जोखिम पनि देखिएको छ ।
भोलि दिउँसोदेखि भने पश्चिम नेपालमा वर्षा घट्दै जाने अनुमान गरिएको छ ।
बागमती, कोशी, मधेस प्रदेशमा आज हल्का वर्षाको सम्भावना छ, हिजोको जस्तो भारी वर्षाको सम्भावना छैन ।
पछिल्लो २४ घन्टाको वर्षा विवरण अनुसार कञ्चनपुरको दोधारा मा १ सय २ दशम्लव २ मिलिमिटर, बेलौरीमा १ सय ६१ दशम्लव ६, कैलालीको धनगढी बजारमा १ सय २४.६ अनि विमानस्थल क्षेत्रमा ८५ दशम्लव २ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कैलालीको टीकापुरमा १ सय १३ दशम्लव ६, राजापुर बर्दियामा १ सय १३ दशम्लव २, रानी जरुवा बर्दियामा १ सय ४९ मिलिमिटर पानी परेको छ ।
अहिले बर्दियामा प्रति घन्टा २८ दशम्लव २९ मिलिमिटर वर्षा भएको छ ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८१, ०८:३२