काठमाडौँ । भारी वर्षाका कारण कञ्चनपुरको अधिकांश स्थान डुबानमा परेको छ । हालसम्म डेढ सयजनाभन्दा धेरैको उद्धार गरिएको भए पनि उनीहरुलाई राखिएको ठाउँ नै डुबानमा परेपछि समस्या भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
सीआईएनसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले रातिदेखि नै उद्धारको लागि लगातार फोन आइरहेको सुरक्षा निकायको समन्वयमा व्यवस्थापनको प्रयास भइरहेको जानकारी दिनुभयो ।
डडेलधुराको पारीगाउँमा रहेको महाकाली नदीमा पानीको सहतले खतरा तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा कञ्चपुरको दोधारामा ५ सय ८८, सुन्दरपुरमा ४ सय ९ र हनमाननगरमा ५ सय ५८ मिलिमिटर वर्षा मापान भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढी र डुबानको जोखिममा रहेकाहरूलाई गएराति मोबाइलमार्फत सन्देश पठाइएको छ । डुबान भइरहने स्थानमा दिउँसोसम्मै सावधानी अपनाउन महाशाखाले भनेको छ ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८१, ०८:११