काठमाडौँ । लगातारको वर्षापछिको डुबानमा परेर कञ्चनपुरमा ७ महिनाको एक शिशुको मृत्यु भएको छ ।
अधिकांश स्थानमा डुबान भएको अवस्थामा सुरक्षित स्थानमा जाने क्रममा कृष्णपुरमा एक ७ महिनाको शिशुको मृत्यु भएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार कञ्चनपुरको अधिकांश स्थान डुबानमा परेको छ । अब कसरी उद्धारको काम गर्ने भन्ने बारेमा सेना, प्रहरी लगायतका सुरक्षा निकायसँग छलफल गरेर अघि बढ्ने उहाँले बताउनुभयो ।
हालसम्म डेढ सयभन्दा धेरैलाई उद्धार गरिएको भए पनि उनीहरुलाई राखिएको ठाउँ नै डुबानमा परेपछि समस्या भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सीआईएनसँग बताउनुभयो ।
कञ्चनपुर जिल्लाको अधिकांश स्थानमा अहिले पनि पानी परिरहेकाले अधिकांश नदीमा बाढी आएकाले आसपासका नागरिकलाई च्च सतर्कताका अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार हन्माननगर र दोधारा वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । जसका कारण दैजी, चौधर, सुहेली र अन्य साना नदीहरूमा बाढीको जोखिम रहेको छ ।
तुलनात्मक रुपमा आज र भोलि केही कम पानी पर्ने
तुलनात्मक रुपमा आज र भोलि केही कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।
मनसुनी वायुकै प्रभावले देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा केही ठाउँमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्द झाले सीआईएनसँग आज र भोलि हिजोअस्तिको भन्दा कम पानी पर्ने अनुमान गरिएको बताउनुभयो ।
उहाँका अनुसार आज दिउँसो सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुँदा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज र भोलि केही कमजोर भए पनि पर्सिदेखि भने फेरि पनि मनसुन सक्रिय हुने देखिएको मौसमविद् झाको भनाइ छ ।
विभिन्न नदीमा बाढीः सावधानी अपनाउन अनुरोध
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार कैलाली जिल्लाको मोहना नदी मालाखेती जलमापन केन्द्रमा हाल जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ ।
त्यहाँ दिनभरि नै बाढी आउने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई आज साँझसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
कञ्चनपुरको दोधारामा ५ सय ८८ मिलिमिटर, सुन्दरपुरमा ४०९ र हनुमाननगरमा ५५८ मिलिमिटर वर्षा भएकाले बाढी र डुवानको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान अनुरो ध गरिएको छ ।
त्यस आसपासका नागरिकले आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउनुपर्नेछ ।
काठमाडौँ जिल्लास्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको टेकु दोभानसम्मको नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
डडेलधुरास्थित पारीगाउँ बाढीमापन केन्द्रमा महाकाली नदीको जलसतह खतरा तहभन्दा माथि रहेको र थप बढ्ने अवस्थामा रहेकाले नदी तटीय क्षेत्र आसपासका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ ।
कञ्चनपुरको विभिन्न नदीमा पनि बाढी आएकाले आज दिनभरि नै सतर्क हुन अनुरोध गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८१, ०८:३७