उरुग्वेलाई १–० ले हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । विहीबार विहान भएको सेमिफाइनलमा जेफर्सन लेरमाले खेलको ३९औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
अब सोमबार विहान हुने प्रतियोगिताको फाइनलमा कोलम्बियाले अर्जेन्टिनासँग खेल्ने छ । पहिलो हाफको अन्तिम समयमा ड्यानिएल मुनोजले दोहोरो पहेँलो कार्ड पाएसँगै कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो । तर उरुग्वेले यसको फाइदा उठाउन सकेन । जितसँगै कोलम्बियाको २८ खेलको लगातार अपराजित यात्रा कायम रह्यो ।
कोलम्बिया कोपा अमेरिकाको फाइनल पुगेको यो २३ वर्षयता पहिलो पटक हो । सन् २००१ को कोपा अमेरिकाको फाइनलमा मेक्सिकोलाई हराएर कोलम्बिया पहिलो पटक उपाधि विजेता बनेको थियो ।
आजको गोलका लागि जेम्स रोड्रिग्वेजले निकालेको पासमा हेड गर्दै गोल गरेका हुन् । रोड्रिग्वेजले यस कोपा अमेरिकामा सिर्जना गरेको यो पाँचौं अवसर हो । यससँगै उनले एउटा संस्करणमा सबैभन्दा बढी गोलको अवसर सिर्जना गर्ने कीर्तिमानमा लियोनल मेसीलाई उछिनेका छन्।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८१, ०८:०५