तेह्रथुम । नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाको नव निर्मित भवन उद्घाटन भएको छ । तेह्रथुम सदरमुकाम म्याङ्लुङमा बुधवार आयोजित कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भवनको उद्घाटन गर्नुभयो । कार्यक्रममा तेह्रथुमको पत्रकारिता पुस्तक पनि विमोचन गरिएको छ ।
महासंघका अध्यक्ष अमृत बास्तोलाका अनुसार भवन निर्माण र कार्यालय व्यवस्थापनका लागि ५३ लाख १९ हजार ८ सय ८५ रुपैयाँ ६२ पैसा खर्च भएको छ ।
कार्यक्रममा तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ तेह्रथुमका संस्थापक अध्यक्ष महेन्द्र काफ्लेलाई पत्रकार महासंघले पुरस्कृत गरेको छ। पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । यस्तै, ५ हजार ५ सय ५५ रुपैयाँ राशिको तेह्रथुम पत्रकारिता विकास पुरस्कारबाट रेडियो मेन्छ्यायेमका स्टेसन म्यानेजर भगिश्वर लिम्बु, १ हजार १ सय ११ रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो आठराईका तुलसी सिटौला र सोही राशिको तेह्रथुम महिला पत्रकारिताबाट रेडियो मेन्छ्यायेमकी बबिता राईलाई पुरस्कृत गरिएको छ ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने प्रदेश सरकार, स्थानीय तह र कार्यालयहरूलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा भवन निर्माणका लागि जग्गा सहयोग गर्ने म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे र तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार अक्षयकोष दाता राधिका पोख्रेललाई प्रदेश प्रमुख कार्कीले सम्मान गर्नुभयो ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८१, १३:१९