काठमाडौँ । कास्कीमा पहिरोले घर पुर्दा एकै परिवारका ७ सहित १० जनाको मृत्यु भएको छ ।
गएराति १० बजेतिर पोखरा महानगरपालिका वडा नम्ब। १९ पुरनचौरमा माथिबाट पहिरोले घर बगाउँदा एकै परिवारका ७ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षत्रीले तल्लाकोट टाडीस्थित कुल परियारको एक तले टिनले छाएको ढुङ्गामाटोले बनेको घर पछाडिबाट आएको पहिरोले पुरेको सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरोले घर पुरिँदा ४५ वर्षका कुलबहालुर परियार, उहाँकी ९० वर्षकी आमा लक्ष्मी, ४३ वर्षकी श्रीमति मानकुमारी, २० वर्षकी माइली छोरी प्रभा, २५ वर्षका ज्वाईँ अङ्कित, १५ वर्षकी छोरी प्रशन्नाको मृत्यु भएको हो ।
अर्का एक जनाको भने परिचय खुलेको छैन । १८ वर्षका छोरा पवनको भने उद्धार गरिएको छ ।
पोखरा ३२ चैनपुरमा ३ जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा हराइरहेका ९ वर्षका पुस्कर सुवेदी र १२ वर्षका अनुस्का ओझाको शव आज बिहान निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताउनुभयो ।
अर्को एक जनाको भने परिचय खुल्न बाँकी छ । तल्लो मादी गाउँपालिका ११ तल्लो ताप्लेमा पहिरोले घर बगाउँदा ८० वर्षकी माइतीकुमारी गुरुङ बेपत्ता हुनुभएको छ ।
उहाँको छोरा ५५ वर्षका ओमबहादुर गुरुङको भने उद्धार गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८१, ०८:०७