काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेर वेपत्ता दुई बस र यात्रुको आज बिहानैदेखि फेरि खोजी सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, डीएसपी भेषराज रिजालले गोताखोरलगायत सुरक्षाकर्मीको टोलीले आज पनि खोजी सुरु गरेको जानकारी दिनुभयो ।
घटनास्थल सिमलतालदेखि गोलाघाटसम्मको क्षेत्रमा वेपत्ताको खोजीका लागि १३ वटा समूह परिचालन गरिएको उहाँको भनाइ छ । डीएसपी रिजालका अनुसार आज ठूलो चुम्बक प्रयोग गरेर बस खोजिँदै छ ।
बसमा ५० जनाभन्दा बढी यात्रुहरु रहेको अनुमान प्रहरीको छ । हालसम्म भेटिएका ३ जना पुरुषको शव वेपत्ता बसका यात्रु रहेको पुष्टि भइसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा गृह सचिवसहितको टोली पुग्दै
नारायणगढ-मुग्लिन सडकखण्डबाट त्रिशुलीमा खसेका बस र यात्रुको खोजीका बारेमा भइरहेको पहल बारे जानकारी लिन गृह सचिव एक नारायण अर्याल र सुरक्षा निकायका अधिकारी आज घटनास्थलमा जाँदैछन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गृहमन्त्रालय र सुरक्षा निकायका अधिकारीले घटनास्थलको निरीक्षण तथा आवश्यक निर्देशन दिने बताउनुभयो ।
अस्ति बिहानदेखि बेपत्ता बस र यात्रुहरूको खोजीका लागि ५ सयभन्दा बढी सुरक्षाकर्मी र २८ जना गोताखोर खटिएको प्रहरीले जनाएको छ ।
वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको बस मुग्लिन-नारायणगढ सडक खण्डमा खसेको पहिरोले बगाउँदा त्रिशुलीमा बेपत्ता छन् ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८१, ०८:५४