ललितपुर । सरला गौतमले लेखेको उपन्यास 'अक्रिमाने काशी' लोकार्पण गरिएको छ । शनिबार ललितपुरमा आयोजित एक समारोहमा कलाकार मदनकृष्ण श्रेष्ठ, समलिङ्गी अभियन्ता सुनिलबाबु पन्त र लेखक भूषिता वशिष्ठले पुस्तकको लोकार्पण गर्नुभएको हो ।
मुस्ताङको लेतेमा जन्मिएको कुकुर काशी आफ्ना हक अधिकारका लागि अमेरिकासम्म पुगेर आएको र अधिकार स्थापनाका लागि मानव समाजसँग गरेको सङ्घर्षको कथा उपन्यासमा चित्रण गरिएको छ ।
बुकहिल पब्लिकेसनले प्रकाशन गरेको १६४ पृष्ठको सचित्र पुस्तकको मूल्य ५०० रुपैयाँ रहेको छ ।
खस्कँदै गइरहेको मानवीय संवेदना, मासिँदै गइरहेको वातावरण र जीवजन्तुको जीवनप्रति चिन्ताका बारेमा वक्ताहरूबिच बहस भएको थियो ।
पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार एवम् लेखक विराट अनुपमले समकालीन लेखनमा भिन्न कथा वाचन र पात्रको कथा भनिएको उपन्यास विषय जस्तै फरक भएको बताउनुभयो । उहाँले भन्नुभयो, 'अम्रिकाने काशीजस्ता फरक आयामका पुस्तकहरू लेखिने हो भने नेपाली साहित्यको जग अझै बलियो हुन्छ । हाम्रो पर्यावरण, जीवजन्तु र मानवसमाजप्रतिको हाम्रो बुझाइमा अझै गहनता थपिन्छ । यो उपन्यास नेपाली साहित्य लेखनकै पछिल्लो चैतन्य हो।'
समलिङ्गी तथा अभियन्ता सुनिलबाबु पन्त, भूषिता वशिष्ठ र लेखक सरला गौतमबीचको परिसंवादमा समकालीन नेपाली लेखनका फरक विषयमा पुस्तक लेखिनुपर्ने चर्चा गरिएको थियो । कार्यक्रममा लेखक गौतमले जनावर र प्रकृतिको नैसर्गिक लोकतन्त्रमा मानिसले धावा बोलिरहेकाले र कुकुरको चेतनासँग मानवीय कथालाई भन्न सकिने भएकोले यो उपन्यास लेखेको र पढ्दा काल्पनिक लागे पनि हामीले देखेर पनि बेवास्ता गरिरहेको हाम्रै समाजको कथा अक्रिमाने काशीमा समावेश रहेको बताउनुभयो ।
अभियन्ता सुनिलबाबु पन्तले आफू समलिङ्गी भएर संसद्सम्म पुगेको स्मरण गर्दै समाजका भिन्न भिन्न मञ्चमा आफूलाई उभ्याएको जस्तै कथा उपन्यासको पात्र काशीको पाएको बताउनुभयो।
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१