काठमाडौँ। हेम–सरिता पाठक फाउन्डेसनद्वारा स्थापित "टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार" बाट पत्रकारहरू मातृका दाहाल र दीपा दाहाल सम्मानित हुने भएका छन् ।
चर्चित प्रकरणहरूमा निष्पक्ष तवरमा निडर भएर समाचार सम्प्रेषण गरेका कारण पुरस्कार पत्रकार द्वयलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको हेम-सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिनुभयो ।
अमेरिकाको टेक्ससमा स्थापित पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ ।
मातृका दाहाल कान्तिपुर दैनिक र दीपा दाहाल उकालो डटकममा आबद्ध हुनुहुन्छ । १८ वर्षदेखि पत्रकारिता गरिरहनुभएका मातृका दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरण, बाल मन्दिर जग्गा अपचलन प्रकरण, पशुपतिनाथ जलहरी हिनामिना प्रकरण, सहकारी बचत अपचलन प्रकरण, नेपाल प्रहरीको हतियार खरिदमा भएको अनियमितता, पतञ्जलि जग्गा अपचलन प्रकरण, राष्ट्रिय परिचयपत्र प्रकरण, नवलपरासीको रामग्रामको १ सय २० बिघा जग्गा हिनामिना प्रकरण लगायतबारे रिपोर्टिङ गर्नुभएको छ ।
यस्तै दीपा दाहालले बाल मन्दिर जग्गा अपचलन तथा नेपाल बाल सङ्गठनको बालगृहबाट बालबालिका बेचबिखन प्रकरण, बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरण, विमानस्थल निर्माण प्रकरण, चिया विकास निगम जग्गा प्रकरण, खानेपानी प्रकरण र जुद्धोदय स्कुल प्रकरण जस्ता भ्रष्टाचार विरुद्धमा समाचार सम्प्रेषण गर्नु भएको छ ।
पुरस्कार निकट भविष्य मै काठमाडौँमा अर्पण गरिने प्रतिष्ठानले जारी निकालेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८१, १५:३९