काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उहाँ नेपाली कांग्रेसको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
ओली चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो । उहाँको शपथ सोमबार बिहान ११ बजे शितल निवासमा हुने छ । भोलिसम्मा कांग्रेस र एमालेबाट मन्त्री बन्नेहरूको नाम तय गरेर मन्त्रीपरिषद् पनि विस्तार गर्ने तयारी रहेकाे एमाले र कांग्रेसले जनाएका छन् ।
प्रधानमन्त्रीमा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै ओलीले असार १७ गते कांग्रेससँग 'राष्ट्रिय सहमतिको सरकार' गठन गर्ने सहमति गर्नुभएको थियो ।
अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिए पनि बहुमत सांसदको समर्थन नपाए पछि उहाँ पदमुक्त हुनुभएको थियो । राष्ट्रपति पौडेलले त्यही दिन संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतबार अपरान्ह ५ बजेभित्र नयाँ सरकार गठनको लागि दाबी पेस गर्न आग्रह गर्नुभएकोमा एमाले अध्यक्ष ओलीले त्यही दिन कांग्रेस समेतको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
प्रतिनिधि सभामा कांग्रेसका ८८ र एमालेका ७८ जना सांसद भएकाले बहुमतका लागि पर्याप्त भए पनि अन्य दललाई समेत सरकारमा सहभागी गराउने तयारी रहेको छ ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८१, १८:०४