काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने सिमलतालबाट त्रिशुली नदीमा खसेर वेपत्ता २ बस र यात्रुको खोजीका लागि सरकारले भारत अनि बङ्गलादेशसँग सहयोग मागेको छ ।
दुबै देशबाट सकारात्मक प्रतिक्रिया आउने अपेक्षा आफूहरूले गरेको गृहमन्त्रालय मातहतको विपद् प्रतिकार्य कमाण्ड पोष्टका प्रमुख डा भिस्मकुमार भुसालले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार सिमलताल क्षेत्रको दुर्घटनास्थल, त्रिशुली नदीको पानीको बहाव र अवस्थाका बारेमा थप भिडिओ पठाउने तयारी पनि भइरहेको छ।
भारतसँग सिधै कुराकानी गरेर सहयोग माग गरिएको र बङ्गलादेशसँग नेपालस्थिति दूतावासमार्फत कुराकानी गरिएको भुसालले जानकारी दिनुभयो ।
बङ्गलादेशसँग भएको उपकरण र जनशक्ति विगतका वर्षमा नेपालमा पनि प्रयोग गरिएको र त्यसबेलाको प्रभावकारिताका आधारमा थप कस्तो सहयोग लिने भन्ने बारेमा पनि सरकारले छलफल चलाएको छ ।
प्रकाशित मिति: सोमबार, असार ३२, २०८१, ०८:५७