रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
वडा नम्बर १२ को बगरा तातापानीमा गएराति साढे ११ बजेतिर आएको बाढीले घर बगाउँदा ५ वर्षीया मनीषा सार्की, ८ वर्षीया धनिषा पुन र १० वर्षीय हितमाया पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
३८ वर्षका डिल्ली बुढाथोकी बेपत्ता हुनुभएको छ । तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले खोला छेउमा रहेका घर बगाएको नगर प्रमुख रवि केसीले जनाकारी दिनुभयो ।
बाढीले भूकम्प प्रभावितका टहरा बगाएको उहाँले बताउनुभयो । उहाँका अनुसार बेपत्ता बुढाथोकीको खोजी भइरहेको छ । घटनामा परी ७ जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेको बताइएको छ ।
उनीहरूको नगर अस्पताल राडीमा उपचार भइरहेको छ । अहिले घटनास्थलमा उद्धारको काम चलिरहेको छ । घटनास्थलमा नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयबासिन्दाको टोली खटिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१, ०८:५९