काठमाडौँ । नेपालमा ‘नइरोबी फ्लाई’ किराको सङ्क्रमण नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाबी गरेको छ ।
पछिल्लो समय ‘नइरोबी फ्लाई’ कीराको सङ्क्रमण फैलिरहेको भन्दै सामाजिक सञ्जालमा विभिन्न विचार सार्वजनिक भइरहेको भए पनि यो कुरा भ्रामक रहेको मन्त्रालयले दाबी गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सीआईएनसँग कुरा गर्दै नइरोबी फ्लाई कैलालीको धनगढी उपमहानगरपालिका देखा परे पनि सङ्क्रमण भने नफैलिएको स्पष्ट पार्नुभयो ।
यो किराले छोएपछि निस्किने रसायनले मानिसको छाला पाक्ने भएकाले किराबाट जोगिनुपर्नेमा उहाँले बताउनुभयो ।
यो किराबाट जोगिन शरीर ढाक्ने कपडा लगाउने, किराले छोए त्यो ठाउँको छालालाई धुने र सङ्क्रमण भएमा चिकित्सकको सल्लाहअनुसार औषधिको प्रयोग गर्न डा. बुढाथोकीले सुझाव दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१, ०९:१६