काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन केन्द्रले विभिन्न प्रविधि र प्रणालीलाई प्रयोगमा ल्याई रहेको बताउनुभएको छ ।
शैक्षिक श्रोत विकास केन्द्र नेपालको आयोजना र जर्मन नेपाल सहयोग संघको सहयोगमा पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको समन्वयमा भएको तालिमको उद्घाटन गर्दै शर्माले नयाँ प्रविधिको प्रयोगबाट नेपालको शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्ने बताउनुभयो ।
जर्मन नेपाल सहयोग संघको सहयोगमा शैक्षिक श्रोत विकास केन्द्रले तयार पारेको डिजिटल पद्धतिबाट अध्ययन अध्यापन गराउने ५० वटा डिजिटल ट्याब्लेट पनि उहाँले विभिन्न विद्यालयका प्रधानाध्यापकहरूलाई हस्तान्तरण गर्नुभयो ।
जर्मन नेपाल सहयोग संघका कार्यक्रम संयोजक चन्द्रकुमार श्रेष्ठले शिक्षकलाई डिजिटल ट्याब्लेट चलाउने तरिका सिकाउन तथा प्रभावकारी सिकाइको क्षमता विकासका लागि २ दिने तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी शिक्षकहरूले काभ्रे, सिन्धुपाल्चोक र धादिङ जिल्लाका विद्यालयमा डिजिटल प्रविधि मार्फत गरिरहेको सिकाइलाई देशैभरि पुर्याउने पर्नेमा जोड दिनुभयो ।
शैक्षिक श्रोत विकास केन्द्र नेपालका अध्यक्ष क्षितिज प्रसाईँले डिजिटल उपकरण उपलब्ध गराउँदै निम्न आर्थिक स्तर भएका नागरिकलाई शिक्षाको मूलधारमा ल्याउनु राज्यको दायित्वलाई पुरा गराउन काम गरिरहेको बताउनुभयो ।
जर्मन नेपाल सहयोग संघका राष्ट्रिय निर्देशक केदारबहादुर तामाङले कोभिड १९ को महामारीदेखि शिक्षाको क्षेत्रमा डिजिटल प्रविधिको विकासमा महत्त्वपूर्ण काम भएको बताउनुभयो ।
शैक्षिक श्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक भीमप्रसाद पोखरेलले शिक्षाको आधुनिकीकरणका लागि डिजिटल प्रविधिको भरपुर प्रयोग गर्नुपर्ने बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१