काठमाडाैँ । सरकारले काठमाडौँ उपत्यकाभित्रका झन्डै ३ लाख बालबालिकालाई पोलियो विरुद्धको खोप खुवाउने भएको छ ।
पोलियो भाइरस भेटिएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका भर्खर जन्मिएकादेखि ५ वर्षसम्मका २ लाख ८० हजार बालबालिकालाई साउन ९ गते बुधवारदेखि १२ गतेसम्म पोलियोविरुद्धको खोप दिन लागिएकाे स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
विद्यालय जाने उमेर समुहका बालबालिकालाई विद्यालयमै गएर तथा विद्यालयबाहिर रहेका बालबालिकालाई घरघरमै गएर पोलियो खुवाउने तयारी गरिएको शाखाका प्रमुख डा. अभियान गौतमले सीआईएनसँग बताउनुभयो ।
पोलियो रोगको निगरानी गर्ने क्रममा काठमाडौँमा पोलियोको उत्परिवर्तित भाइरस भेटिएकाले त्यसको प्रतिकार्यको लागि बालबालिका केन्द्रित खोप दिन लागिएको उहाँले जानकारी दिनुभयो ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकालाई कुनै पनि बेला पोलियो भएर शरीर लुलो हुनुका साथै पक्षाघात भएर ज्यानै जान सक्ने भएकाले खोप आवश्यक भएको उहाँको भनाइ छ ।
५ वर्षमुनिका बालबालिका घर वा विद्यालयमा भेटिने भएकाले त्यही अनुसार स्वयंसेविका खटाइने डा. गौतमले जानकारी दिनुभयाे ।
यसअघि नियमित खोप लगाएका बालबालिकालाई पनि यो विशेष खोप अभियानमा सहभागी गराउनुपर्ने डा. गाैतमले बताउनुभयाे । पाेलियोविरुद्धको खोप नलगाउँदा भविष्यमा पोलियो लागेर पक्षाघात हुनसक्ने र मृत्युसम्म हुन सक्ने जोखिम रहने भएकाले पनि आफ्ना बालबालिकालाई यो अभियानमा सहभागी गराउन सरकारले अभिभावकलाई पनि अनुरोध गरेकाे छ ।
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१, १९:३३