काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट उड्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा रहेका १८ जनाको मृत्यु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति निकालेर दुर्घटनामा १८ जनाको मृत्यु भएको र एक जना घाइते भएको पुष्टि गरेको हो ।
घाइते अवस्थामा उद्धार गरिएका चालक मनिषरत्न शाक्यको केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
मृतक सबै जना सौर्य एयरलाइन्सका कर्मचारी रहेको एयरलाइन्सले जनाएको छ । सबै शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
सौर्य एयरलाइन्सले जनाए अनुसार विमानमा अमितमान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, सर्र्वेश मरासिनी, श्याम विन्दुकार, वनराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अहिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही र आरिफ रेडा रहनुभएको थियो ।
बिहान ११ बजेर ११ मिनेट जाँदा पोखराका लागि उडेको जहाज उड्नासाथै धावन मार्गबाट दुर्घटनामा परेको थियो । उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई धावनमार्गको पूर्वतिर राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै भुईँमा बजारिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१, १३:४३