काठमाडाैँ । नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अहिले कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यससँगै उहाँ नेपालको पहिलो महिला मुख्यसचिव पनि बन्नुभएको छ । तर उहाँको कार्यकाल भने धेरै लामो हुने छैन । उहाँ ५८ वर्षे उमेर हदका कारण आउँदो भदौ १५ गतेबाट अवकाश पाउनुहुनेछ ।
यसअघि असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले त्यसबेला निमित्त मुख्यसचिव रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको थियो ।
त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि स्वत: निलम्बनमा परेका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई तत्कालिन सरकारले असार १० गते राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणी सरहको विशेष पद सिर्जना गरी सरुवा गरेको थियो ।
त्यसपछि सचिव गड्तौलाले वरिष्ठताका आधारमा निमित्त मुख्यसचिवको जिम्मेवारी पाउनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१, १८:३४