सल्यान । सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट आश्रित नागरिकलाई दैनिकी चलाउन सजिलो भएको छ ।
सरकारले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र दलित तथा सीमान्तकृत समुदायका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि सामाजिक सुरक्षा भत्तामा एक खर्ब १६ अर्ब बजेट विनियोजन गरेको छ ।
यो रकम कुल बजेटको ६ प्रतिशतभन्दा बढी हो ।
२०७० सालमा श्रीमान बितेपछि एकल हुनुभएका सल्यानका ३५ वर्षका ससिली घर्तीले भत्ता वापत पाउने मासिक २ हजार रुपैयाँ २ छोराछोरीको लालनपालनमा खर्च हुने गरेको बताउनुभयो ।
सामाजिक सरक्षा भत्ता ज्येष्ठ नागरिक, एकल महिला, दलित तथा सीमान्तकृत समुदायका बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई जीवन चलाउने सहारा बनेको छ ।
काम गर्न नसक्ने र अरुमा आश्रित हुनुपर्ने अवस्थाका नागरिकले भत्ताबाटै खानेकुरा जोहोदेखि, औषधोपचारसम्म गर्दै आएका छन् ।
सामाजिक सुरक्षा भत्ता सामान्यत वडा कार्यालयमा गएर बुझ्ने गरिए पनि सहरी क्षेत्र र बैँकमा पहुँच पुगेका ठाउँमा भने सम्बन्धित व्यक्तिकै बैँक खातामा हाल्ने गरिएको जनप्रतिनिधिहरू बताउँछन् ।
सरकारले २०५१ सालबाट ज्येष्ठ नागरिकलाई जीवन निर्वाहका लागि सघाउने उद्देश्यसहित भत्ता दिन थालेको हो ।
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१, ११:०९