काठमाडौँ । आगामी ३ दिन देशका प्रमुख नदीहरूको जलसतह बढ्दो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पानीको सतह बढे पनि सतर्कता तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।
नदी किनारका क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउनुपर्ने मौसमविद्को भनाइ छ ।
आज मकवानपुर, सिन्धुली, नुवाकोट, गोरखा, लमजुङ, कास्की, डोटी र आसपासका जिल्ला भएर बग्ने ससाना नदीमा बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कणर्ाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले नदी किनारमा बसोबास गरेकाहरू सतर्क रहनुपर्ने महाशाखाले भनेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१, ०९:२०