डडेलधुरा । डडेलधुरामा मानिस हराउने क्रम बढ्दै गएको छ । आर्थिक वर्ष २०७९/८० माभन्दा आर्थिक वर्ष २०८०/८१ मा हराउने मानिसको सङ्ख्या बढेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष जिल्लाबाट १ सय १४ मानिस हराएका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ९६ जना जिल्लाबाट हराएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक वीरबहादुर थापाले अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा १८ जना बढी मानिस हराएको जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७८/७९मा जिल्लामा हराउने मानिसको सङ्ख्या ५९ थियो । आव २०७८/७९ र २०७९/८० मा हराएका सबैलाई फेला पारेको प्रहरीले बताएको छ ।
प्रहरीको तथ्याङ्कअनुसार जिल्लामा वेपत्ता हुने सूचीमा महिला तथा बालबालिका धेरै छन् । गत आर्थिक वर्षमा ६७ जना महिला तथा ४७ जना बालबालिका हराएका छन् ।
हराएका कुल १ सय १४ जनामध्ये एक सय १० जना फेला परेको र चार जनाको खोजी भइरहेको थापाले जानकारी दिनुभयो ।
मानिस हराएकोे निवेदन पर्ने तर केही घटनामा हराएका मानिसलाई उनीहरूकै घरपरिवारले भेटाएपछि प्रहरीमा जानकारी नगराउँदा बेपत्ता हुनेको सङ्ख्या बढेको जस्तो देखिएको प्रहरी निरीक्षक थापाको भनाइ छ ।
बढ्दो सामाजिक सञ्जालको प्रयोग, बालबालिकाप्रति अभिभावकले कम समय दिनु, बेरोजगारीलगायत विभिन्न कारणले परीवारमा जानकारी नगराइ भारत जाने गरेका कारण वेपत्ता हुने मानिसको सङ्ख्या बढेको प्रहरीको बुझाइ छ ।
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१, ११:०१