काठमाडौँ । नेपालबाट गएको आर्थिक वर्षमा डेढ खर्व रुपैयाँ भन्दा बढीको पशुपन्छीजन्य बस्तु निर्यात भएको छ ।
पशु सेवा विभागकाअनुसार गएको आर्थिक वर्षमा नेपालले १ खर्व ५२ अर्ब ४० करोड रुपैयाँको पशुपन्छीजन्य पदार्थ निर्यात गरेको हो ।
जसमा माछा मासु, दूधजन्य पदार्थ, पशुपन्छीको खोप, ऊन, गलैँचा, छाला लगायतका बस्तु छन् ।
यो अवधिमा १० अर्ब ५७ करोडको नेपाली गलैँचा, ३ अर्ब २० करोडको छुर्पी, ४८ करोड २५ लाखको पशु बस्तुको छाला, ३ करोड रुपैयाँको भैँसीको मासु, २ करोड २४ लाखको नौनी, १ करोड ९६ लाखको घ्यु निर्यात भएको छ ।
यस्तै सरकारले १८ करोड २९ लाख रुपैयाँको पशुजन्य खोप निर्यात गरेको छ ।
नेपालको कुल निर्यातमा पशुपन्छी र पशुपन्छीजन्य पदार्थ निर्यातको योगदान १० दशमलव ५९ प्रतिशत रहेको विभागले जनाएको छ ।
यसैबिच, सरकारले यस वर्ष यो निर्यातको दर अझ बढ्ने दाबी गरेको छ । पशु सेवा क्षेत्र प्राथमिकतामा राखेकाले आगामी वर्ष निर्यातको दर अझ बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सीआईएनसँग बताउनुभयो ।
यसैबिच, नेपालले नाफाको व्यापार गरिरहेका देशको सङ्ख्या घट्दै गएको छ । गत आर्थिक वर्षमा १७० वटा देशमा वैदेशिक व्यापार गरेको नेपालले जम्मा २० देशमा मात्रै नाफा कमाउन सकेको छ । आर्थिक वर्ष २०८९/८० मा नेपालले ३५ वटा देशसँग नाफाको व्यापार गरेको थियो ।
भन्सार विभागकाअनुसार डेनमार्क, अल्जेरिया, आइसल्यान्ड, किर्गिस्तान, अर्मेनिया, बहमास, माल्टा, माल्द्विप्स लगायतका देशसँगको व्यापार नाफामा छ ।
जसमा सबैभन्दा धेरै डेनमार्कसँग ४६ करोड ७५ लाख ७० हजार रुपैयाँ नाफा भएको विभागले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१, १२:२३