काठमाडौँ । झापा बुद्धशान्ती गाउँपालिकाका गीता घिमिरेको गोठमा अहिले साना ठुला गरी २६ वटा गाई भैँसी छन् । १० वर्षदेखि व्यावसायिक पशुपालन गरिरहनुभएकी उहाँले पशु बिमा गर्न थालेको ५ वर्ष भयो । बिमामा जोडिएपछि गाई भैँसीको उपचार सहज र जोखिममा सुरक्षण पाएको गीताको अनुभव छ । उहाँ भन्नुहुन्छ “ मलाइ त यो गजब लाग्यो, बिमा गरेपछि गाईबस्तुलाई केही भइहालेमा बिमाले समेट्ने रहेछ ।”
बिमा गरे पछि प्राकृतिक वा मौसमी समस्याका कारण बालीनाली र पशुपालनमा पुग्ने नोक्सानीको क्षतिपूर्ति पाइन्छ । त्यसैले नोक्सानी कम गर्ने उत्तम उपाय हो पशु बिमा । ६ वर्षदेखि व्यावसायिक पशुपालन गरिरहनुभएका स्याङ्जाको पुतलिबजार नगरपालिकाका महेश पुरी बिमाले उपचारमा पनि सहज र सुलभ हुने भएका कारण पनि यसमा जोडिएको बताउनुहुन्छ ।
सरकारका अनुसार नेपालमा ४१ लाख ३१ हजार परिवार कृषि पेसामा छन् । जसमध्ये ३४ लाख ५ हजार पशु पालन गरिरहेका छन् । उनीहरूमध्ये१ लाख ४० हजार किसानले मात्र पशु बिमा गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । तै पनि पछिल्लो समय पशु बिमामा किसानको आकर्षण बढ्दै गएको पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालको दाबी छ ।
बिमा गरेको बस्तुभाउ मरेमा क्षतिपूर्ति कम्पनीले दिने भएका कारण किसानलाई राहत पुग्ने गरेको छ । बालीनालीको पनि बिमा गर्न मिल्ने भए पनि बाली बिमाको तुलनामा पशुपन्छी बिमामा किसान आकर्षित भएको भए पनि समग्रमा बिमाप्रतिको आकर्षण बढ्न नसकेको पाइएको हो ।
सरकारले अघिल्लो आर्थिक वर्षमा पशु बिमाका लागि १ अर्ब ४४ करोड रुपैयाँ छुट्टाएकोमा यस वर्ष बढाएर १ अर्ब ६५ करोड पुर्याएको छ । आवश्यक परे अझै बढाउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बिमामा किसानको पहुँच बढाउन सरकारले किसान लक्षित काम गर्न कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको भनाइ छ ।
पशु बिमा बापत तिर्नुपर्ने रकमको ८० प्रतिशत सरकारले तिरिदिने र बाँकी किसानले बेहोर्नुपर्ने प्रावधान ।सरकारले बजेट बढाएर कार्यक्रम विस्तार गरिरहे पनि अझै ८० प्रतिशत पशु पालक किसानले पशु बिमा गराएका छैनन् । यसका लागि अझै सजिलो र लचिलो प्रावधान ल्याउनुका साथै प्रचार बढाउनुपर्ने विज्ञहरू बताउँछन् ।
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१, १२:४९